दुर्गापुर ।
झापाको कनकाई नगरपालिकाले झण्डात्तोलन गरेर गणतन्त्र दिवस मनाएको छ । नगरले आज (बिहीवार) अर्थात जेठ १५ गते १८ औं गणतन्त्र दिवसको अवसर पारेर झण्डात्तोलन गरेर गणतन्त्र दिवस मनाएको हो ।

नगरपालिकाको कार्यालयमा नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उप–प्रमुख आशा शर्मा शिवाकोटीसहित जनप्रतिनिधिले झण्डात्तोलन गर्दै सहिदहरुको तस्वीरमा फुलगुच्चा अर्पण गर्दै गणतन्त्र दिवस मनाएका हुन् ।
नगर प्रमुख पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रकाश उप–प्रमुख शिवाकोटीले पारेकी थिइन् । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै उप–प्रमुख शिवाकोटीले गणतन्त्रको अवसरमा आज साँझ नगरमा दीपप्रज्लन गरिने र भोलि (शुक्रवार) कनकाई आधारभूत नगर अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरिने जानकारी दिइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले गणतन्त्र स्थापनासँगै विकासको गतिले तिव्रता पाएको बताए । उनले गणतन्त्र अघि र अहिलेको विकासमा आकाश पतालाको फरक रहेको बताउँदै गणतन्त्र स्थापनापछि संघीयता स्थापनासँगै तीन तहको सरकार बनेसँगै विकासले फड्को मारेको बताए । उनले काम गर्ने स्थानीय तहहरुमा प्रत्येक स्थानमा बाटा र कालोपत्रे भइसहेको बताए । पूर्वाधारको क्षेत्र, सामाजिक विकासका क्षेत्रसहित विभिन्न क्षेत्रमा आम नागरिकहरुलाई पहिलेको भन्दा राम्रो सुबिधा दिन सकेको नगर प्रमुख पोखरेलको भनाई थियो ।
कार्यक्रममा कनकाई–१ का वडाध्यक्ष सुशिलकुमार पोखरे, २ का वढाध्यक्ष बलराम राई (प्रताप), ३ का वडाध्यक्ष युवराज चम्लागाईं, ४ का वडाध्यक्ष रोशन सुवेदी, ७ का वडाध्यक्ष भीष्मभूषण सिटौला, ८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, कार्यपालिका सदस्य, वडा सदस्य, नगरका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कनकाई नगर अस्पतालका लेखापाल लक्ष्मीप्रसाद अधिकारीले गरेका थिए ।