बिर्तामोड । 

प्रगतिशील पत्रकार तथा साहित्यकार स्वर्गीय कृष्ण सेन इच्छुकको स्मृति दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न गरिएको छ। प्रेस सेन्टर नेपालले देशैभर आफ्नो शाखा कार्यालयमा उनको २३औं स्मृति दिवस मनाएको हो । 

झापाको बिर्तामोडमा पनि प्रेस सेन्टर नेपाल झापाले स्व। इच्छुकको स्मृति दिवस मनाइएको छ । गौरीशंकर स्मृति प्रतिष्ठानको सभा हलमा सम्पन्न कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव दिपीन राईले कृष्ण सेन जनपक्षीय पत्रकारको सूत्रधार भएको बताए । 

उनले नेपाली जनताको जिउने आधारका विषयमा त्यो बेला नै  इच्छुकले आफ्ना कलममार्फत जनतालाई सुसूचित गराएको स्मरण गरे । इच्छुकले सुन्दर नेपाल र शान्त नेपाली हुनका लागि लोकतान्त्रिक गणतन्त्र भित्र संघीय राज्य स्थापना भए नेपालले विकासको नयाँ फड्को मार्ने बताउने गरेका थिए । 

प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेन्टरका पूर्व केन्द्रीय सदस्य लिलाराज झापालीले मन्तब्य राखेका थिए । उपाध्यक्ष होमप्रकास अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए । 

२०१३ साल कार्तिक ३ गते जन्मिएका कृष्णलाई जनपक्षीय पत्रकार भएकै कारण तत्कालीन सरकारले २०५९ साल जेठ ६ गते गिरफ्तार गरी जेठ १३ गते काठमाडौंमा हत्या गरेको थियो ।