बिर्तामोड ।

 बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईले भारतबाट आयात हुने मरेका माछाको विक्री वितरण रोक्न कठिनाई भएको बताएकी छिन् । 

नगरपालिकाले आयोजना गरेको माछापालन तथा व्यवस्थापन सम्बन्धि २ दिने तालिम समापन कार्यक्रममा बोल्दै उनले जिल्लाका अन्य पालिकाले मरेका माछाको आयात तथा विक्री वितरणलाई खुला छोडेका कारण बिर्तामोडमा नियन्त्रण गर्न समस्या भएको बताइन् । बिर्तामोडमा २०७९ साल असोज ६ गते बसेको कार्यपालिकाको बैठकले भारतबाट आयात हुने अस्वस्थकर माछा विक्री वितरण गर्न निषेध गरेको थियो । 

बिर्तामोडमा अहिले  विषादी हालिएका मरेका माछा प्रयाप्त पाउने गरेको छ । उपभोक्ताले समेत स्वास्थ्यको कुनै ख्याल नगरी विषाक्त फर्मालिन हालिएका माछा खरिद गरेर खाने गरेका छन् । स्थानीय ताजा माछाको बजार भने खुम्चिएको छ । नगर प्रमुख प्रसाईले स्थानीय माछाको बजारीकरणमा जोड दिँदै आवश्यक अनुगमन गर्ने बताइन् । 

तालिम समापन कार्यक्रममा बोल्दै नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले मत्स्य पालन व्यवसायमा विद्युतमा ठुलो खर्च आउने भएकाले यसमा सहुलियतका लागि सम्बन्धित निकायमा छलफल गर्ने बताएका छन् । 

यस्तै तालिममा सहभागि वडा नम्बर ३ स्थित हरियाली कृषि फर्मका सञ्चालक हरिप्रसाद मैनालीले सरकारले सहुलियत प्रदान गरे बिर्तामोडलाई माछाको हव बनाउने बताए। जिल्लामात्र नभइ कोशी प्रदेशलाई नै पुग्नेगरी माछा उत्पादन गर्न सकिने भन्दै उनले सिँचाईमा सहयोगको लागि आग्रह गरे । 

आईतबारदेखि सञ्चालन भएको तालिममा  नगरका २५ जना कृषकको सहभागिता  थियो । तालिममा कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीबाट आएका सुरज कुमार सिंहले माछामा लाग्ने रोग, आवश्यक औषधी, माछाको वृद्धि विकास, गुणस्तरिय माछा उत्पादन लगायतका विषयमा प्रशिक्षण दिएका थिए । तालिम समापन कार्यक्रममा कार्यपालिका सदस्य संगिता सिवा, पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख डा. नगेन्द्र खड्का, अधिकृत सावित्रा दाहाल लगायतको उपस्थिति रहेको थियो ।