बिर्तामोड ।
नेपाल पत्रकार महासंघ झापाले १५ वटै पालिकामा ज्ञापनपत्र बुझाउने अभियान शुरु गरेको छ । महासंघ झापाले सात बुँदे मागसहित झापाका १५ वटै स्थानीय तहहरुमा ज्ञापनपत्र बुझाउने भएको छ । यसैक्रममा आज (आइतवार) बिर्तामोड नगरपालिकामा महासंघले ज्ञापनपत्र बुझाएको हो ।

महासंघका अध्यक्ष एकराज गिरीको नेतृत्वमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईलाई आज ज्ञापनपत्र बुझाएको छ । बाचन महासंघका उपाध्यक्ष सुव्रत न्यौपानेले गरेको कार्यक्रमको सहजीकरण सचिव राजु पाठकले गरेका थिए ।
अध्यक्ष गिरीले नगर प्रमुख प्रसाईलाई सात बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै नगर प्रमुख प्रसाईले नगरको स्रोत र साधनले भ्याएसम्म सञ्चार क्षेत्र तथा सञ्चार माध्यमलाई सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेकी छिन् ।
महासंघले पालिकामा सञ्चार सम्बन्धी आवश्यक नीति तथा सबै कानूनहरु सञ्चारमैत्री रुपमा निर्माण गरी एक वर्षभित्रमा कार्यान्वयन गर्नुपर्ने, सञ्चारमाध्यमहरुको संरक्षण, सञ्चालन र विकासका लागि स्थानीय सूचना तथा विज्ञापन, लोककल्याणकारी सन्देशमूलक विज्ञापन स्थानीय (जिल्लाभित्रका) सञ्चारमाध्यमलाई उपलब्ध गराउनु पर्ने, पालिकामा रहेका सबै सञ्चारकर्मीको यसै वर्षबाट वार्षिक नवीकरण हुने गरी स्वास्थ्य बीमा गरिदिनु पर्ने, पत्रकारको सीप, क्षमता विकास तथा मिडिया साक्षरताका लागि पर्याप्त बजेट विनियोजनका गरिदिनु पर्ने माग राखिएको छ ।
यसैगरी सञ्चारकर्मीको सामाजिक सुरक्षाका लागि नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा अनुदान सहयोग, पत्रकार महासंघको भौतिक विकास तथा सञ्चार उपकरण खरिदमा आवश्यक सहयोग प्रदान गरिदिनु पर्ने र स्थानीय सरकारका असल अभ्यास तथा विकासका महत्वपूर्ण कामहरु बारे खोजमूलक अध्ययन र लेखनवृत्ति कार्यक्रमका लागि आवश्यक बजेट विनियोजनको मागसहित महासंघले ज्ञापनपत्र बुझाएको छ ।
बिर्तामोड नगर, हल्दीबारी र बाह्रदशी गाउँपालिकामा आज ज्ञापनपत्र बुझाइसकिएर र अर्जुनधारा नगरमा पनि बुझाउने बताउँदै अध्यक्ष गिरीले अन्य पालिकाहरुमा भोलि बुझाउने जानकारी दिए । ज्ञापनपत्र बुझाउने कार्यक्रममा महासंघका पदाधिकारी तथा सदस्य, पत्रकारहरुको उपस्थिति रहेको थियो ।