काठमाडौं ।
सरकारले वृद्ध भत्ता लिने उमेर २ वर्ष थप गर्ने भएको छ । अब ७० वर्षको उमेरमा वृद्ध भत्ता दिने सरकारको तयारी छ । पूर्वसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुझाव आयोगको रायका आधारमा तयार पारिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजनाअनुसार वृद्ध भत्ता अब ७० वर्षको उमेर पुगेपछि मात्र दिइने छ ।

प्रतिवेदनअनुसार वृद्ध भत्ता पाउने उमेर ७० वर्ष पुर्याउने र भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने कार्ययोजना स्वीकृत गरिएको छ । उमेर घटाउने र प्राप्त गर्ने रकम बढाउँदा सामाजिक सुरक्षाका लागि ढुकुटीको अधिक प्रयोग हुन थालेसँगै सरकारले वृद्ध भत्ता पाउने उमेर बढाउने तयारी गरेको हो ।
खनाल संयोजकत्वको आयोगले वृद्ध भत्ता पाउने उमेर ६८ बाट ७० वर्ष पुर्याउने, दलित र एकल महिलाले भत्ता पाउने उमेर ६० बाट ६५ वर्ष बनाउने, ऐनमा व्यवस्था भएबाहेक अन्य भत्ता बजेटमार्फत घोषणा नगर्ने र आगामी ५ वर्ष वृद्ध भत्ता नबढाउने सुझाव दिएको छ ।
सरकारले अहिले ६८ वर्ष उमेर पुगेका सबै जेष्ठ नागरिकलाई मासिक ४ हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ । दलित ज्येष्ठ नागरिक, साविक कर्णाली क्षेत्र, विधवा, सम्बन्धविच्छेद वा विवाह नगरेकी एकल महिलाको हकमा ६० वर्षमा भत्ता दिइँदै आएको छ । त्यस्तै, लोपोन्मुख आदिवासी जनजाति, पूर्ण तथा अतिअशक्त अपांगतालाई पनि मासिक भत्ता दिइन्छ ।
आयोगको कार्ययोजनाअनुसार भत्ताका लागि राष्ट्रिय परिचयपत्र पनि अनिवार्य गरिने छ । यसको कार्यान्वयनको समय सीमा १ वर्ष तोकिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी १ वर्षभित्र वृद्ध भत्ता पाउने उमेर ७० वर्ष कायम गर्ने कार्ययोजना स्वीकृत गरेको हो ।