झापा । 

 वैदेशिक रोजगार विभागले नेपाल सरकारबाट मान्यता प्राप्त कम्पनी तथा वैदेशिक रोजगार व्यवसायीले मात्र विदेशमा कामदार पठाउन पाउने जनाएको छ । अन्यले बिभिन्न बहाना बनाएर गैरकानुनी रूपमा वैदेशिक रोजगारमा कामदार पठाए कारबाही गर्ने विभागले चेतावनी दिएको छ । विभागले वैदेशिक रोजगार व्यवसायीलाई मात्रै कामदार पठाउने अनुमति रहेको भन्दै अन्यलाई कारबाही गर्ने चेतावनी दिएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा छापा मारेर कागजात जफत गरी अनुसन्धान सुरु गरिरहेको अवस्थामा विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त चेतावनी दिएको हो । विभागले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न वा कुनैपनि नेपाली कामदारलाई कामदारका रूपमा विदेश पठाउन वैदेशिक रोजगार ऐन बमोजिम विभागमा दर्ता भएका संस्थाले मात्र पाउने जनाएको छ । 

विभागले हाल शैक्षिक कन्सल्ट्यान्सी, ट्राभल एजेन्सी, तालिम प्रदायक संस्था, भाषा प्रशिक्षण केन्द्र, व्यक्तिलगायतले नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै  विज्ञापन गर्ने, त्यसको आधारमा राहदानी र रकम संकलन गर्ने गरेको पाइएको भन्दै गैरकानुनी हिसाबमा वैदेशिक रोजगारीमा पठाउनेहरूलाई टोली खटाइ नियमित तथा आकस्मिक अनुगमन गर्ने जनाएको छ ।

विभागले वैदेशिक रोजगारका राहदानी र अन्य कागजात संकलन गर्ने र नक्कली कागजात तयार गरी विदेश पठाउने गरिएका उजुरी र जनगुनासो दैनिक रूपमा आउने गरेको समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।

विभागमा संथागत उजुरी घटेको भएपनि व्यक्तिगत उजुरी अस्वभाविक रूपमा बढेको देखिएको छ । सरकारले सामाजिक सञ्जालमा वैदेशिक रोजगारका विज्ञापन गर्न प्रतिबन्ध लगाएपनि आकर्षक र झुटा आश्वासनका विज्ञापन बनाएर बेरोजगार युवायुवतीलाई ट्र्यापमा पार्ने गिरोहहरू सक्रिय देखिएका छन् ।

उनीहरूले यूएईस्थित स्पेनिस कम्पनी र युरोपका क्रोसिया, अल्बानिया, लिथुवानिया, सर्बिया, बेलारूस, रोमानियालगायतका देशमा रोजगारीको अवसर र आवासीय अनुमति (पीआर) ग्यारेन्टी भन्दै आकर्षक भाषा शैलीमा सामाजिक सञ्जालका ह्वाट्सएप र टिकटकमार्फत विज्ञापन गरी ठगी गर्ने गरेको पीडितहरू बताउँछन् ।

यस्ता विज्ञापनबाट प्रभावित भएर युरोपेली मुलुकमा रोजगारीमा जान चाहने युवायुवतीले ठूलो रकम गुमाएका छन् । कतिपयले  वैदेशिक रोजगारमा वर्षौंदेखि कमाएको रकम पनि युरोप पुग्ने आशमा दलाललाई सुम्पिएर बिचल्लीमा परेको देखिएको छ ।

baidesik