झापा ।
झापाको शिवसतक्षी नगरपालिका–६ शिवगञ्जबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शिवसतक्षी–६ शिवगञ्जका परमानन्द साहले लागूऔषध ओसारपसार तथा बेचबिखन गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा उनलाई पक्राउ गरिएको हो ।

गोप्य सूचना पाएसँगै उनको घरमा गएर चेकजाँच गर्ने क्रममा परमानन्द साहको बेडको सिरानी मुनि खुकुरी चुरोटको बट्टाभित्र प्लाष्टिकले बेरेर लुकाई छिपाई राखेको ४६ पोका लागूऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । उनलाई बुधवार साँझ ५ः२० बजेको समयमा नियन्त्रणमा लिइएको हो ।
उक्त पदार्थ मान्यता प्राप्त डिजिटल तराजुमा तौल प्लास्टिक बाहेक २ ग्राम ९०० मिलिग्राम थियो । उक्त लागूऔषध र साहलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय झिलझिलेले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।