बिर्तामोड ।
वैदेशिक रोजगार व्यवसायी संघ झापाले सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम गरेको छ । संघले पहिलो पटक झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम गरेको हो ।

संघको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा आज (बुधवार) भएको रक्तदान कार्यक्रम १४० पिन्ट रगत संकलन भएको छ । पछिल्लो समय झापामा बिभिन्न सामाजिक संघसंस्थाद्धारा आयोजना गरिने रक्तदान कार्यक्रम मध्ये १४० पिन्ट रगत संकलन हुनु निकै राम्रो भएको संघका अध्यक्ष धनबहादुर पंधाकले बताए ।
संघको केहीदिन अघि भएको अधिवेशनबाट निर्वाचित नेतृत्वले संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत पहिलो कार्यक्रम रक्तदान गरेको हो । संघका अध्यक्ष धनबहादुर पंधाकको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उद्घाटन बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईले गरेकी हुन् ।
रक्तदान कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख प्रसाईले म्यानपावर व्यसायीहरुले नगरमा सुचिकृत गर्न आग्रह गरेकी छिन् । उनले नगरमा सञ्चालन सवै व्यवसाय सुचिकृत भएपनि अधिकांश म्यानपावरका शाखा कार्यालयहरु सुचिकृत नभएको गुनासो गरिन् । उनले रक्तदान कार्यक्रमले कसैलाई जीवन दान दिने भएकाले म्यानपावर व्यवसायीहरुले गरेको रक्तदान कार्यक्रमको प्रशंसासमेत गरेकी छिन् ।
स्वागत संघका प्रथम उपाध्यक्ष तथा रक्तदान कार्यक्रमका संयोजक राजन सिलवालले गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, संघका निवर्तमान उपाध्यक्ष कर्ण पौडेल, टोल विकास समितिका अध्यक्ष रामबहादुर बस्नेतलगायले संघले गरेको रक्तदान कार्यक्रमको प्रशंसा गरेका थिए । कार्यक्रमको सञ्चालन संघका सचिव नीरकुमार खत्री (निरन) ले गरेका थिए ।
उद्घाटन कार्यक्रममा संघका निवर्तमान कोषाध्यक्ष अन्जु लामिछाने, संघका द्धितीय उपाध्यक्ष प्रकाश राई, सह–सचिव सरिता बराल, कोषाध्यक्ष कृष्ण खतिवडालगायत संघका पदाधिकारी तथा सदस्यसहित बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । रक्तदान गर्नेहरुलाई संघको तर्फबाट कदरपत्रसमेत प्रदान गरिएको थियो ।