हल्दीबारी ।  

झापाको हल्दीबारी गाउँपालिकाले आफ्नै लगानीमा निर्माण गरेको भुतेनी खोलाको पुल उद्घाटन गरेको छ । दुई करोड ३० लाख रुपैयाँको लागतमा निर्माण गरिएको पुलको प्रतिनिधि सभा सदस्य तथा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उद्घाटन गरेका हुन् । भुतेनी खोलामा पुल निर्माण भएपछि पालिकाको वडा नं १ र  ५ का स्थानीयलाई आवत–जावतमा सहज भएको छ ।

अध्यक्ष लिङ्देनले पुलको उद्घाटन गर्दै  जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारिता भए विकासमा कुनै अवरोध नआउने बताएका छन् । हल्दीबारीले पालिकाको  सर्वाङ्गीण विकासमा मारेको  फड्को उदाहरणीय रहेको उनको भनाई छ ।

bhuteni khola


हालसम्म एक सय ५० काठेपुल विस्थापित गरी पुल र कल्भर्ट निर्माण गरिएको गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिए । यससँगै भुसुडी खोलामा थप दुईवटा पुल निर्माण अन्तिम चरणमा रहेको उनको भनाई छ । कार्यक्रममा नेकपा एमाले हल्दीबारी अध्यक्ष त्रिलोचन सपाकोटाले कम लागत र समयमै पुल निर्माण हुनु सुखद् भएको बताए ।

हल्दीबारी गाउँपालिकाको आफ्नै बजेटबाट भुतेनी खोलाम एउटा र भुसुडी खोलमा दुईवटा चार करोड ९६ लाख ८५ हजार ९२८रुपैयाँको लागत निर्माण भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले जानकारी दिए ।  भुतेनी खोलामा उद्घाटन गरिएको पुलको लम्बाइ ४२.७ मिटर र चौडाइ ७.२ मिटर रहेको छ । पुल निर्माणको ठेक्का सारा सृष्टि निर्माण सेवा प्रालिले पाएको थियो ।

 गाउँपालिकाले दुई वर्षभित्र पुलको निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनी सारा सृष्टिसँग २०७९ मङ्सिर ७ गते सम्झौता गरेको गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले जानकारी दिए । वर्षायाममा आवात–जावत गर्न सास्ती व्यहोरिरहेका नजिकै रहेको धनुषा आधारभूत विद्यालयका विद्यार्थीलाई समेत पुल निर्माण भएपछि सहज भएको छ ।

पालिकाका अध्यक्ष रबिन्द्र लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्दनेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रले  गरेको कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख न्यौपानले गरेका थिए ।

कार्यक्रममा हल्दीबारी १ का वडाध्यक्ष देबीबहादुर थापा, ४ का वडाध्यक्ष सन्तकुमार थापा, ५ का वडाध्यक्ष खड्क लावती, कार्यपालिका सदस्य, जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिसहित स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।