बिर्तामोड । 

झापाका नौ वटा बिद्यालयमा अपाङ्गता स्रोत कक्षा सञ्चालनमा रहेका छन् । बैरा तथा सुस्त श्रवण, दृष्टिविहिन, बौद्धिक अपाङ्गता, अटिजम जस्ता शारिरिक रुपमा कमजोर रहेका बालबालिकाहरु झापाका नौ वटा बिद्यालयमा सञ्चालनमा रहेका  स्रोत कक्षामा अध्ययन गरिरहेका छन् ।  

उक्त ९ वटा बिद्यालयमा हाल २ सय २४ जना बिभिन्न अपाङ्गता भएका बालबालिकाहरु अध्ययनरत रहेका लेखा जोखा परामर्श केन्द्र झापाका संयोजक भुवन पौडेलले जानकारी दिए । 

बिर्तामोड–१ को मोहनमाया माविमा बैरा तथा सुस्तश्रवण भएका १९, बिर्तामोड–९ को गरामनीस्थित दुर्गा माविमा दृष्टिविहिन १९ जना, बिर्तामोड–१० को विराट आधारभूत बिद्यालयमा बौद्धिक अपाङ्गता भएका २८ जना र बिर्तामोड–३ को महेन्द्ररत्न माविमा अटिजम भएका २१ जना बालबालिकाहरु अध्ययनरत रहेका संयोजक पौडेलले बताए । 

यसैगरी कनकाई–८ को हिमाली माविमा वैरा तथा सुस्तश्रवण भएका १७ जना, कनकाई–३ को कनकाई माविमा वैरा तथा सुस्तश्रवण भएका ६२ जना, कमल गाउँपालिकास्थित पराजुँगीमा रहेको मंगलमय माविमा सोही प्रकृतिका ३० जना, दमकको सरस्वती माविमा दृष्टिविहिन १२ जना र दमककै तारावारीमा रहेको ताराबारी आधारभूत बिद्यालयमा वौद्धिक अपाङ्गता भएका १६ जना बालबालिका अध्ययनरत रहेका छन् । 

हाल २२४ जना भएपनि घट्ने र बढ्ने क्रम चलिरहने पौडेलले बताए । झापामा ९ वटा बिद्यालयका स्रोत कक्षामा झापासहित इलाम, पाँचथरलगायत अन्य जिल्लाका पनि अपाङ्गता भएका बालबालिकाहरु रहेका छन् । 

पौडेलका अनुसार अपाङ्गता भएका बालबालिकालाई छात्रावास तथा डेरा बस्नु पर्ने भए मासिक ५ हजार अर्थात १० महिनाको ५० हजार रुपैयाँ सरकारले उपलब्ध गराउने गरेको छ । अघिल्लो बर्षसम्म मासिक ४ हजारले १० महिनाको ४० हजार रुपैयाँ दिदै आएको र यस आर्थिक बर्ष २०८१/०८२ देखि मासिक ५ हजार दिन थालेको पौडेलले बताए । 

यसैगरी सरकारले घरबाटै बिद्यालय जाने अपाङ्गता भएकालाई यातायात छात्रवृत्ति अन्तरगत मासिक ५००, सहायक सामाग्रीको सहायताले बिद्यालय जानेलाई मासिक ३०० र अपाङ्गता प्रोत्साहन छात्रवृत्ति अन्तरगत मासिक १०० रुपैयाँ उपलब्ध गराउँदै आएको दुर्गा माविका स्रोत शिक्षक तथा बिर्तामोड अपाङ्गता स्वलम्वन संस्थाका अध्यक्ष चन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।