बिर्तामोड ।
बिर्तामोड नगरपालिकामा विभिन्न चार वटा ठुला सडक योजनाहरुको काम तिव्र गतिमा भईरहेको छ । संघ, प्रदेश र नगरपालिकाको लगानीमा मुख्य सडकहरुको स्तरोन्नति कार्य धमाधम भईरहेको हो । हर्कलाल मार्ग, बुट्टाबारी–प्याकुरेल चोक सडक, गोकुल जोशी मार्ग र सहिद चन्द्रमार्गको विभिन्न खण्डमा स्तरोन्नति कार्य भईरहेको छ ।

बिर्तामोडको पूर्व–पश्चिम राजमार्गस्थित देउराली होटल देखि धौलापुल आदर्श चोकसम्म पर्ने हर्कलाल मार्गको स्तरोनन्ति कार्य धमाधम भईरहेको छ । भद्रपुर रोडको बैकल्पिक मार्गको रुपमा रहेको यस सडकमा विभिन्न ३ खण्डमा काम भईरहेको हो ।
राजमार्गसँगै जोडिएको देउराली पछाडिको भागमा भौतिक पूर्वाधार विकास मन्त्रालयको १ करोड १३ लाख ४६ हजार ७०६ रुपैयाँमा ठेक्का लिएर धनेश्वर कन्स्ट्रक्सन एण्ड सप्लायर्सले धमाधम काम गर्दै छ । अहिले ड्रेन तथा नाला निर्माणको काम भईरहेको जनाईएको छ । यस्तै सडकको विच खण्डमा १ हजार ९५ मिटर क्षेत्रमा पनि धमाधम काम हुँदैछ । ६ करोड रुपैयाँमा ठेक्का लिएर सरोज निर्माण सेवाले काम गरिरहेको हो ।
सडकको तल्लो ४ सय ५० मिटर क्षेत्रमा कौशल्या विल्डर्सले कालो पत्रे सम्पन्न गरेको छ । १ करोड ११ लाख २१ हजार ३९४ रुपैयाँमा ठेक्का पाएको कौशल्याले आज कालोपत्रेको काम सम्पन्न गरेको सडक डिभिजन दमकका सव–ईन्जिनियर मदन शाहले जानकारी दिए। यि दुवै बजेट भौतिक पूर्वाधार र सघन शहरी विकास कार्यालयकोबाट प्राप्त भएको हो ।
सडकको अन्तिम भागमा भने गएको आर्थिक वर्षमा नै कालोपत्रे सम्पन्न भएको छ । वडा नम्बर ३ को आदर्श चोकदेखि वडा नम्बर ४ को आनन्द चोकसम्मको १ हजार ५६ मिटर सडक स्तरोन्नति भएको हो । पूर्वाधार विकास कार्यालयको ४ करोड ६१ लाख रुपैयाँ बजेटमा निर्माण सम्पन्न भएको थियो ।
बुट्टाबारी–प्याकुरेल चोक सडक अर्थात वडा नम्बर ६ देखि ७ हुँदै वडा नम्बर ८ प्याकुरेल चोकसम्म ६ हजार २ सय ५८ मिटर लामो यो सडकको निर्माण कार्य धमाधम भईरहेको छ । अन्तराष्ट्रिय स्तरको बन्ने यस सडकको हालसम्मको प्रगति ६० प्रतिशत छ । हाल कालोपत्रेका लागि आवश्यक पूर्वाधार निर्माणको काम भईरहेको र जेठको तेश्रो सातासम्ममा काम सुरु हुने ठेकेदार मनोज उप्रेतीले जानकारी दिए। विश्व बैंकको लगानी रहेको यस सडकमा आरपी साप समता जेभीले ५८ करोड रुपैयाँमा ठेक्का लिएर काम गर्दै आएको छ ।
गोकुल जोशी मार्ग अर्थात वडा नम्बर ३ को सिमानादेखि वडा नम्बर २ हुँदै कनकाई नगरपालिका जोड्ने यस सडकको स्तरोन्नती ३ खण्डमा विभाजन गरेर धमाधम भईरहेको छ । चारपाने(घैलाडुवा सडक खण्डदेखि पश्चिम घाग्रा पुलसम्मको १ किलोमिटर सडक खण्डमा सडक डिभिजन कार्यालयको ६ करोड रुपैयाँ बजेटबाट शान्ति निर्माण सेवा प्रा।लिले धमाधम ड्रेन निर्मणको काम गरिरहेको वडा अध्यक्ष किशोर पौडेलले जानकारी दिए।
यस्तै सडक डिभिजन कार्यालय दमकको १ करोड ४४ लाख रुपैयाँमा कछुवारी देखि दाहाल गाउँसम्मको ७ सय मिटरमा जय लक्ष्मी निर्माण सेवाले काम गर्दैछ ।यहाँ ड्रेन निर्माणसंगै सडकको बिच भागमा डिभाइडर निर्माणको काम भईरहेको छ ।
यस्तै कोशी प्रदेश सरकार र बिर्तामोड नगरपालिकाको २ करोड ६० लाख रुपैयाँ समपुरक बजेटबाट दाहाल गाउँदेखि लालमाटी चोक पश्चिम खण्डसम्म १ किलोमिटर क्षेत्रमा काम भईरहेको छ । यहाँ कालो पत्रेका लागि प्राइम लगाउने काम सम्पन्न भएको र केहि दिनभित्रमा कालोपत्रे गरिने निर्माण कम्पनीका दिनेश मैनालीले जानकारी दिए।
बिर्तामोड नगरपालिका र हल्दिबारी गाउँपालिका जोड्ने सहिद चन्द्रमार्ग सडक पनि स्तरोनन्तीको क्रममा छ । वडा नम्बर ३ देखि वडा नम्बर ९ नडियाबारी हुँदै जाने यस सडकमा ड्रेन तथा नाला निर्माणको काम धमाधम भईरहेको छ । यहाँ पनि विभिन्न ३ खण्डमा काम भईरहेको छ ।
५ करोड ६० लाख रुपैयाँ बजेटमा १ हजार ९ सय ६० मिटर सडकमा सिद्दीथुम्का एभरग्रिन जेभीले काम गरिरहेको छ । यस खण्डमा हालसम्मको प्रगति ४० प्रतिशत भएको ठेकेदार नविन खरेलले जानकारी दिए । उनले अवको १५ दिनमा कालोपत्रेको काम हुने जानकारी दिए। यस्तै अर्को खण्डमा ट्रस्ना निर्माण सेवा २८५ मिटर क्षेत्रमा काम गर्दै छ । ६८ लाख ९३ हजार ३३५ रुपैयाँमा ठेक्का लिएर ट्रस्नाले काम गर्दै आएको हो । यस्तै अर्को ४ सय ७० मिटर खण्डमा १ करोड ५ लाख रुपैयाँमा ठेक्का लिएर नाम्लाक निर्माण सेवाले काम गर्दैछ । यस खण्डमा दुवैपट्टी डेमोक्रेसन वालसमेत रहेको यस खण्डमा अबको १५ दिनमा कालोपत्रे गरिने ठेकेदार कम्पनीका केशब लिम्बुले जानकारी दिए।
बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगरमा सडक स्तरोन्नकीका धेरै वटा काम भईरहेको बताइन् । निर्धारित समयमा नै काम सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिँदै उनले आवश्यक अनुगमनसमेत गर्दै आएको जानकारी दिइन् । नगर प्रमुख प्रसाईले चालुआर्थिक वर्षमा साना ठुला गरेर करिब २ अर्ब रुपैयाँ भन्दा बढीका योजना सञ्चालन भईरहेको बताएकी छिन् ।