झापा । 

झापाको मेचीनगर नगरपालिका–१४ दुवागढी चौकस्थित चन्द्रगढि चारआली सडक खण्डमा भएको टिपरले ठक्कर दिदा दुई जना गम्भीर घाइते भएका छन् । चारआलीबाट चन्द्रगढीतर्फ जाँदै गरेको स १ क १८१ नम्वरको टिपरले सोहि दिशातर्फ जाँदै गरेको प्र.१–०१–००१८प.००७४ नम्बरको मोटरसाईकललाई आज (आइतवार) दिनको १२ बजेको समयमा ठक्कर दिएको थियो । 

ठक्करबाट मोटरसाईकल चालक मेचीनगर–१३  का ५५ बर्षिय मनप्रसाद लिम्बुको पिसाव थैलिमा चोट, अवस्था गम्भिर रहेको छ भने सोहि मोटरसाईकलमा पछाडि सवार  उनकै श्रीमती अन्दाजी ५२ बर्षिया टिकाकुमारी श्रेष्ठ (लिम्बु) समेतको दुवै खुट्टामा चोट, अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । 

उपचारमा आफन्तहरु संलग्न रहेका छन् भने दुबै जना घाइतेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । मोटरसाईकल र टिपर प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेको र घटना स्थलतर्फ प्रहरी चौकी चारआलीको प्रहरी टोली गएको थियो । 

टिपर चालक गौरीगञ्ज गाँउपालिका–१  का २६ बर्षिय बिजय सरदार  भएको खुल्न आएको प्रहरीले जनाएको छ ।  आज ३ः४० बजे टिपर चालकलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय धुलाबारी पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।