लक्ष्मीपुर । 

केही दिन यता देशैभर झ्याप्प, झ्याप्प बिजुली काटिने समस्याका कारण सर्वसाधारण मारमा छन् । बर्षाको समय हो कहिँकतै हावाहुरी चट्याङ्गले गर्दा काटियो भन्दा पनि हावाहुरी चट्याङ्ग नभएको बेला पनि पटक–पटक झ्याप्प, झ्याप्प बिजुली काटिने गरेको छ । 

बिद्युत प्राविकरणमा फोनमार्फत सोध्दा ‘फल्ट’ हो भन्ने जवाफ दिनेका गरेका छन् । घण्टामा ५/१० पटकसम्म बिजुली फ्याप्प झ्याप्प काटिने गरेको छ । 

तर, पटक–पटक गरेर यसरी बिजुली काटिदा धेरै उपभोक्ताका इलेक्ट्रोनिक्स सामाग्रीहरु बिग्रीने गरेका छन् ।  २४ घण्टामा कम्तिमा पनि २० पटक भन्दा धेरै झ्याप झ्याप गरेर बिजुली काटिने गरिरहेको छ । 

झापासहित देशभरका अधिकांश स्थानमा यस्तो समस्याले सर्वसाधारण तथा बिजुली उपभोक्ता मारमा परेका छन् । कुनै कुनै समय त केही स्थानमा रातभर नै बिजुली हुँदैन । के अघोषित रुपमा लोडसेटिङ त शुरु भएको होइन ? भन्ने बिजुली उपभोक्ता भन्ने गरेका छन् ।  दैनिक पटक–पटक गरेर बिजुली काट्ने र बिद्युत प्राविकरणमा फोन गरेर सोध्यो भने लोडसेटिङ हैन भन्ने जवाफ आउने गरेको छ । 

नेपाल बिद्युत प्राधिकरणमा महानिर्देशक भएर हितेन्द्रदेव शाक्य आएसँगै यसरी बिजुली झ्याप्प, झ्याप्प काटिन थालेको स्थानीयले बताउने गरेका छन् । नेपाल बिद्युत प्राविधकरणबाट कुलमान घिसिङलाई हटाएसँगै बिजुली झ्याप्प झ्याप्प समस्या दैनिक जसो बढ्दै गएको एक स्थानीयको भनाई छ । 

यस बिषयमा प्राविधकरणको बिर्तामोड वितरण केन्द्रका प्रमुख संजिवकुमार शाहले फल्ट भएको फिडर पत्ता लगाउनका लागि बिजुलीको लाइन काट्नु पर्ने भएकाले एक दुई पटक त्यसरी काटिने गरेको बताए । तर, झापाका अधिकांश स्थानमा भने पटक–पटक झ्याप्प झ्याप्प बिजुली काटिने समस्या ५÷६ दिन यता बारम्बार भइरहेको छ । बिजुली झ्याप्प झ्याप्प जाने र रातभर नआउने समस्या बढ्दै जाँदा उपभोक्ता तथा सर्वसाधारणले सामाजिक सञ्जालमा बिभिन्न टिक्का टिप्पणीसहित बिरोध गर्दै आएका छन् । तर, पनि उक्त समस्या भने समाधान भएको छैन ।