झापा ।

 हावाहुरीको वितण्डाका कारण तीन जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । शुक्रबार दिउँसो आएको हावाहुरीले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा तीन जनाले ज्यान गुमाएका छन् भने तीन जना घाइते भएका छन् ।  पानीसँगै तीव्र गतिमा चलेको हावाले रूख भाँचिदा नवलपरासीको सुनवलमा दुई जनाको मृत्यु भएको छ तीन जना गम्भीर घाइते भएका छन् ।

सुनवल नगरपालिका–७ ज्यामिरेस्थित प्रतीक्षालयमा बसिरहेका स्थानीयलाई रूख ढलेर च्यापेको थियो । घटनामा सुनवल–७ की ३० बर्सिया मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुनको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।  यस्तै सोही वडाका ४० बर्सिया नरमती परियार, ५१ बर्सिया दुर्गेश्वरा खाम्चा र २२ वर्षीय अनिल थापा घाइते भएका छन् । उनीहरूको रुपन्देहीको देवदह मेडिकल कलेज उपचार भइरहेको छ ।

यसैगरी कपिलवस्तुको कपिलवस्तु नगरपालिका–८ मैनिहवाकी १४ बर्सिया सुखना केवटको पनि रूखले च्यापेर मृत्यु भएको छ । उनी तौलिहवा–लुम्बिनी सडक खण्डअन्तर्गत मैनिहवामा पर्ने बगैँचामा आँप टिप्न गएकी थिइन् । चोट लागेर घाइते भएकी उनलाई तौलिहवास्थित जिल्ला अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । तीव्र गतिमा चलेको हावाले आँपको रूखको हाँगा भाँच्चिएर खस्दा लागेपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

रुपन्देहीका विभिन्न ठाउँमा पनि हावाहुरीले क्षति पुर्‍याएको छ । बुटवल, देवदह, भैरहवा, मर्चवार क्षेत्रका केही घरमा हावाहुरीले क्षति पुर्‍याएको छ भने केही ठाउँमा रुखसमेत ढलाएर क्षति गरेको छ । हावाहुरीका कारण रुपन्देहीमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।