हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिकाले हावाहुरीले घर भत्किएर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गरेको छ । हल्दीबारी गाउँपालिकाले आज (शुक्रवार) मृतकको घरमै पुगेर हार्दिक समवेदनासहित परिवारलाई नगद ५० हजार रुपैयाँ सहयोग गरेको हो । 

हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेबी मैनाली, योजना शाखा प्रमुख राजन न्यौपाने, हल्दीबारी–५ का वडाध्यक्ष खड्क लावतीसहित जनप्रतिनिधिहरुको उपस्थितिमा  सहयोग रकम हस्तान्तरण गरिएको थियो । 

गत बैशाख ३१ गते राती पानीसँगै आएको हावा हुण्डरीले घर भत्काउँदा घरले किचेर हल्दीबारी गाउँपालिका वडा नं. ५ का मानबहादुर मगरको सुतेकै ठाउँमा मृत्यु भएको थियो । मगरको परिवारलाई पालिकाको विपत व्यवस्थापन कोषबाट ५० हजार रूपैयाँ आर्थिक सहयोग वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले जानकारी दिए । 

गाउँपालिकाले  पालिका क्षेत्रभित्र हावाहुरी, आगलागी, हात्तीबाट क्षति वाढीपहिरोलगायत प्राकृतिक दैविक प्रकोपलगायतका विपतबाट ज्यान गुमाउनेको परिवारलाई अवस्था हेरेर राहत स्वरूप  आर्थिक सहयोग गर्ने गरेको र सोही अनुरुप मृतक मगरको परिवारलाई सहयोग वापत ५० हजार रुपैयाँ प्रदान गरिएको पालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले बताए । उनका अनुसार पालिकाले घाइतेहरुलाई पनि तत्काल सहयोगका रुपमा आर्थिक सहयोग गर्ने गरेको छ ।