सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका–४ स्थित कनकाई धाम कोटीहवनमा बर्सेनि तीन सय बढीको लगनगाँठो जोडिने गरेको छ । कनकाई धार्मिक विकास संस्था (कोटीहवन) का अध्यक्ष शेरबहादुर थापाले बैशाख ३१ गतेसम्म तीन सय ३५ जनाले विवाह गरेको जानकारी दिएका छन् । झापाका मात्र नभई छिमेकी जिल्ला इलाम, मोरङ, सुनसरीलगायतका स्थानबाट विवाहका लागि आउने गरेको उनले बताए। बैशाखमा मात्रै ३२ जनाको विवाह भएको उनको भनाई छ । 

‘यहाँ कम खर्चमा विवाह हुन्छ’,  उनले भने ‘सहज र सरल भएकाले पनि यहाँ विवाह गर्ने क्रम बढ्दै गएको छ ।’ धाम समितिले नवविवाहित जोडीलाई प्रमाणपत्र समेत दिने गरेको छ । विवाह भोज गर्न चाहनेहरुले नजिकै रहेको होटलहरुले साहाकारी खानाको व्यवस्था गरिदिने गरेका छन् । 

गत चैत २४ गते रामनवमीको अवसरमा ६४ जनाको सामूहिक व्रतबन्ध गरिएको अध्यक्ष थापाले बताए। तीन बिघा १३ कठ्ठा १० धुर जग्गा क्षेत्रफलमा फैलिएको कनकाई धाममा आन्तरिकसँगै बाह्य पर्यटक तीर्थाटनका लागि आउने गरेको कनकाई धार्मिक विकासका महासचिव दीननाथ खतिवडाले बताए।

विशेषगरी शनिबार र मंगलबारका दिन ठूलो संख्यामा भक्तजन आउने गरेको महासचिव खतिवडा बताए। ‘दुई दिनमा कम्तीमा तीन हजार भक्तजनको आगमन हुन्छ’,  महासचिव खतिवडाले भने ‘अन्य दिनको तुलनामा शनिबार र मंगलबार धेरै भक्तनज आउने गरेका छन् ।’

नेपालका विभिन्न स्थानसँगै भारतको पश्चिम बंगाल, बिहार, मेघालय, दार्जिलिङ लगायतका स्थानबाट भक्तजन आउने धाम विकास समितिले जनाएको छ । माघे संक्रान्तिमा मकर स्नान गर्नुका साथै माई भेला भर्न हजारौंको संख्यामा भक्तजन आउने गरेका छन् भने नयाँ वर्ष, दशैं, तिहार लगायतका चाडपर्वको अवसरमा उल्लेख्य मात्रामा भक्तजन आउने गरेका छन् । 

वि.सं. २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाईमा भएको धार्मिक अनुष्ठान कोटिहोम महायज्ञ गरिएको स्थानमा निर्मित कोटीयज्ञेश्वर शिव पाञ्चायन मन्दिरसँगै पञ्चुमखी बालाजी, लक्ष्मी नारायण लगायत २० वटा देवी–देवताका मन्दिर रहेको छ । 

धाम परिसरमा डिपीआर बनाएर दुई करोड ५० लाखको लागतमा सन्तकुटी निर्माण कार्य भइरहेको छ भने अन्य पूर्वाधार विकासको काम भइरहेको छ । धामको विकासका लागि दाताहरुको सहयोगमा अझ धेरै काम गर्न सकिने भए पनि सरोकारवाला निकायको असहयोगले गर्न नसकिएको अध्यक्ष थापाको गुनासो छ ।

कनकाई धाम कोटीहोम पूर्वको एउटा महत्वपूर्ण धार्मिक पर्यटन क्षेत्र हो । यसलाई कनकाई धाम, कोटीहोम, माईधाम, माई आदि नामले पनि चिनिन्छ । विगत वि.सं. २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाईमा यहाँ एउटा बृहत् धार्मिक अनुष्ठान कोटिहोम महायज्ञ गरिएको थियो, त्यस पश्चात यस स्थानलाई कोटिहोम भनिन थालियो र पछि संस्थागत हुँदै गएपछि कनकाई धामको रूपमा विकसित भयो ।

यस धार्मिक पर्यटन क्षेत्रको विकास कोषको लागि कनकाई धाम धार्मिक विकास संस्था कोटिहोम नामक निकायले यहाँको विकासको लागि कार्य गरिरहेको भए पनि यहाँ अन्य दुई दर्जन जति साना ठूला संघ–संस्थाहरूले आ–आफ्ना गतिविधि गरिरहेका छन् ।

कोटीहोममा २०४२ सालमा महायज्ञ गरिएको ठाउँमा रहेको अग्नि आज पर्यन्त अविछिन्न प्रज्वलित छ र सोही स्थानमा शिवपाञ्चायन मन्दिर रहेको छ । पूर्व–पश्चिम लोकमार्गसँग जोडिएको यो धार्मिकस्थल पुग्न सहज छ भने पर्यटकको सुविधाका लागि एक–दुई किलोमिटर वरपर सुविधा सम्पन्न होटलहरु खुलेका छन् ।