बिर्तामोड ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित झापा जिल्ला स्तरीय खुला पुरुष प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिता शनिबारदेखि बिर्तामोड–३ स्थित मेहरमान बहुउद्देश्यीय कभर्डहलमा सुरु भएको छ। मेहरमान बहुउद्देश्यीय कभर्डहलको आयोजनामा तथा बिर्तामोड नगरपालिकाको प्रायोजनमा सञ्चालन भएको प्रतियोगिता दुई दिनसम्म चल्नेछ। प्रतियोगिता जेठ ३० र ३१ गते आयोजना गरिएको हो।
प्रतियोगिताको उद्घाटन बिर्तामोड नगरपालिकाका उपप्रमुख नगन्द्रप्रसाद संग्रौलाले गरेका थिए। कार्यक्रममा क्लबका अध्यक्ष दिलेन्द्रकुमार कार्कीको अध्यक्षता रहेको थियो।
कार्यक्रममा जग्गादाता लालबहादुर खड्का, प्रवीन खड्का, कृष्ण खड्का, सल्लाहकार समिति सदस्यहरू ओम विमली, केदार घिमिरे, निर्मल भट्टराई तथा बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु घिमिरेलगायतको उपस्थिति रहेको थियो। प्रतियोगिताको प्रमुख अफिसियलका रूपमा राष्ट्रिय अम्पायर भानु सिटौला रहेका छन्। कार्यक्रममा बोल्दै प्रमुख अथिति संग्रौलाले खेलाडि उत्पादनमा ध्यान दिनुपर्ने बताए ।
प्रतियोगितामा तीन विधाअन्तर्गत कुल ६२ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ। खुला पुरुषतर्फ विजेता टोलीले २० हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ तथा तेस्रो हुने टोलीले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
यस्तै, आन्तरिक विधामा १९ भन्दा बढी टोली सहभागी रहेको र विजेता टोलीलाई खसी उपहार प्रदान गरिने आयोजकले जनाएको छ। जिल्ला स्तरका खेलाडीहरूबीच प्रतिस्पर्धा गराई ब्याडमिन्टन खेलको विकास तथा खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ।


















