झापा ।

नीता भेटवाल स्मृति प्रतिष्ठान, नेपालको आयोजनामा ‘वर्तमान अशान्त विश्वमा बुद्धका उपदेशहरुको सान्दर्भिकता’ विषयक निबन्ध प्रतियोगिताको पुरस्कार वितरण समारोह–२०८३ भव्यताका साथ सम्पन्न भएको छ । झापाको बिर्तामोड–१ मा अवस्थित प्रतिष्ठानले उत्कृष्ट प्रतिभाहरूलाई नगद पुरस्कारसहित सम्मानित गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष उमानाथ ओलीको सभापतित्व तथा बौद्धिक व्यक्तित्व प्रा.डा. रेशबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।  कार्यक्रममा राष्ट्रगान प्रस्तुत गरिनुका साथै स्वर्गीय नीता भेटवालको आत्माको चीर शान्तिको कामना र शहीदहरूको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो । प्रतिष्ठानका उपाध्यक्ष कमल गुरागाईले स्वागत गरेको उक्त कार्यक्रममा रामचन्द्र सिटौलाले स्वर्गीय नीता भेटवालको संक्षिप्त परिचय र होम सुवेदीले निबन्ध प्रतियोगिताको मूल्याङ्कन तथा महत्वमाथि प्रकाश पारेका थिए । प्रतिष्ठानका सचिव माधव विद्रोहीले कार्यक्रम सञ्चालनगरेका थिए । 

निबन्ध प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय, बुद्धशान्तिकी कक्षा ९ मा अध्ययनरत छात्रा सिमरन पौडेल प्रथम हुँदै ७० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भएकी छिन् । यस्तै, बीरेन्द्र माध्यमिक विद्यालय, भद्रपुर–७ की कक्षा १०मा अध्ययनरत छात्रा सफलता फुयल ५० हजार रुपैयाँसहित द्वितीय र स्कूलचौन माध्यमिक विद्यालय, गौरादह–२का कक्षा ९ मा अध्ययनरत यमन न्यौपाने ३० हजार रुपैयाँसहित तृतीय पुरस्कार पाएका छन् । 

यसैगरी प्रतियोगितामा उत्कृष्ट ठहरिएका १२ जना विद्यार्थीहरूलाई जनही ७ हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार प्रदान गरिएको छ । सान्त्वना पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूमा १) आयुष्मा न्यौपाने हल्दीबारी मावि, हल्दीबारी–१, २) ओती आङदेम्बे लक्ष्मी नारायण मावि, शिवसताक्षी–१, ३) जेनिसा लुइटेल डोरामारी मावि, गौरादह–७, ४) नाभिया श्रेष्ठ सरस्वती मावि, भद्रपुर–२, ५) निशा योञ्जन तामाङ कमला मदन–आश्रित स्मृति मावि, कमल–२, ६) रमेश अधिकारी सरस्वती बालकल्याण मावि, मेचीनगर–१२, ७) लोला तामाङ जनता मावि, झापा–६ शरणामती, ८) विनिसा पौडेल सिंहदेवी मावि, कनकाई–५, ९) सचिका राजवंशी, ज्यामिरगढी मावि, मेचीनगर–१५, १०) साजन मगर कविशिरोमणि मावि, मेचीनगर–९, ११) सुमित तिम्सिना शान्ति आदर्श मावि, बुद्धशान्ति–६, १२) सुस्मिता खतिवडा सिंहदेवी मावि, अर्जुनधारा–१ छन् । 

कार्यक्रममा राष्ट्रिय सभाका पूर्व माननीय सदस्य हरिचरण शिवाकोटी, बौद्धिक व्यक्तित्व प्राडा. संध्या बस्नेत, वरिष्ठ अधिवक्ता तथा अग्रज साहित्यकार लीला उदासी, झापाका अग्रज साहित्यकार पुण्य खरेल, वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य, मेची बहुमुखी क्याम्पसका प्रमुख देवीप्रसाद आचार्य, वरिष्ठ पत्रकार तथा साहित्यकार केशव आचार्य, जयन्द्र प्रसाई साहित्य सेवा कोषका संस्थापक अध्यक्ष गोपीकृष्ण प्रसाई, प्रतिष्ठानका संरक्षक परिवारका तर्फबाट श्रीमती कमलादेवी भट्टराई र श्रीमती शुशिला प्रसाई, तथा प्रा.डा. गंगा प्रसाद अधिकारी लगायतको विशेष उपस्थिति रहेको थियो ।

समारोहमा मन्तव्य राख्दै प्रमुख अतिथि प्रा.डा. रेशबहादुर बस्नेत, प्राडा. संध्या बस्नेत, बरिष्ठ अधिवक्ता लीला उदासी, अग्रज साहित्यकार पुण्य खरेल तथा बिर्तामोड नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सूर्यप्रसाद कङ्गवाले बुद्धका उपदेशहरूको सान्दर्भिकता र यस्ता बौद्धिक प्रतियोगिताहरूको महत्वबारे चर्चा गरेका थिए ।