झापा ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ हातमा कालोपट्टी र कालो ब्यानरसहित सिन्डिकेटको विरोधमा आन्दोलनमा उत्रिएको छ । यसअघि प्रेस विज्ञप्तिमार्फत मलेसियाको सिन्डिकेटको विरोध गर्दै आएको संघ बुधबारदेखि कालो ब्यानर र कालोपट्टीसहित विरोधमा उत्रिएको हो ।

संघले आफ्ना सदस्यहरूलाई सिन्डिकेटमा सहभागी नहुने लिखित प्रतिबद्धता माग गरेको छ । बुधबारसम्म ३ सय हाराहारीमा व्यवसायीले सिन्डिकेटमा सहभागी नहुने लिखित प्रतिबद्धता जनाएका छन् । करिब १ हजारको संख्यामा रहेका व्यवसायीमध्ये दुई तिहाइभन्दा बढी व्यवसायीले मलेसियामा कामदार पठाउने गरेका छन् ।
विरोध कार्यक्रमबारे जानकारी दिँदै संघका अध्यक्ष भुवनसिंह गुरुङले नेपाल सरकारले प्रेस विज्ञप्ति जारी गरेर मलेसिया सिन्डिकेटको विरोधमा रहेको जनाउनु सकारात्मक भएपनि आम व्यवसायी आश्वस्त हुन नसकेकाले खबरदारीका लागि कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएको बताए ।
उनले सिन्डिकेटको विरोधमा मलेसियास्थित नेपाली राजदूतावासले समन्वय गरिरहेको भन्दै आम व्यवसायीले संविधान तथा कानुनले दिएको स्वतन्त्रता अनुसार पेशा व्यवसाय र काम गर्ने वातावरण सुनिश्चित हुनुपर्ने पक्षमा संघ दृढताका साथ उभिने बताए । उनले पूर्व अध्यक्षहरू तथा आमव्यवसायीको सुझावका लागि कार्यक्रम गरिएको भन्दै सिन्डिकेटका सम्बन्धमा सत्य तथ्य सूचना पाए संघलाई उपलब्ध गराउन आग्रह गरे ।
संघका प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठले संघले सुरुवात गरेको आन्दोलन सिन्डिकेट बाइकट नगरी नरोकिने बताउँदै सबै व्यवसायी एक ठाउँमा उभिनुपर्नेछ बताए ।
संघका महासचिव महेशकुमार बस्नेतले विभिन्न प्रपञ्चमा व्यवसायीलाई अलमलमा राखेर सिन्डिकेट लगाउने योजनाका विरुद्ध नेपाल सरकार, परराष्ट्र तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मलेसियास्थित नेपाली राजदूतवासका क्रियाकलापलाई सूक्ष्म ढंगले अध्ययन र खबरदारी गरिरहेको बताए ।
संघका पूर्वअध्यक्ष दानबहादुर तामाङले आफ्नो कार्यकालमा मलेसिया रोजगारी खुलेको र त्यतिबेला प्राप्त डिमाण्डसम्बन्धी विवरण सम्पूर्ण व्यवसायीलाई बाँडफाँट गरेको भन्दै अहिले सीमित व्यवसायीले एकलौटी गरेर अवसर हत्याउने प्रयास गरे अन्य व्यवसायी आफ्नो अधिकार रक्षाका लागि भौतिक रूपमा उत्रिएर सिन्डिकेट पक्षधरलाई निरस्त गर्ने आँट गर्नुपर्नेमा जोड दिए ।
पूर्वअध्यक्ष प्रेमबहादुर कटुवाल हरेक कुरामा सिन्डिकेट भएमा मलेसिया कामदार पठाउन रोक्नुको विकल्प नहुने बताएका छन् । अर्का पूर्वअध्यक्ष रोहन गुरुङले संघको नेतृत्वले सिन्डिकेटका पक्षमा नरहेको सार्वजनिक प्रतिबद्धताले नपुग्ने भन्दै आम व्यवसायीले सिन्डिकेट रोक्ने ठोस कार्ययोजना चाहेकाले त्यसमा काम गर्नुपर्ने सुझाव दिए । संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीले सिन्डिकेटको विरोधमा यसअघिका निर्णयलाई अध्ययन गरी आफूसँग भएको अनुभव पनि लिन आग्रह गरे ।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष जनक रावलले अन्य व्यवसायीलाई पेशा व्यवसायको अधिकारबाट वञ्चित गराएर सिन्डिकेट लगाउने सोच आपराधिक मानसिकताको उपज भन्दै त्यस्ता तत्वका विरोधमा अफिस अफिस पुगेर रगत बगाउन परेपनि पछि पर्न नहुने, व्यवसायी भए लाइसेन्स खारेज गराउने र मन्त्री भए बर्खास्त गराउनेसम्मका कठोर अभियानमा लाग्न मञ्च पछि नपर्ने प्रतिबद्धता जनाए ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका प्रथम उपाध्यक्ष बिनोदजंग केसीले एसोसिएसन सधैंभरि सिन्डिकेटको विरोध र आम व्यवसायीका पक्षमा रहेकाले सिन्डिकेटको विरोधमा जस्तोसुकै मूल्य चुकाउन परे पनि पछि नपर्ने प्रतिबद्धता जनाए ।