बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिकाले वडा नम्बर ७ मा रहेको सिताराम मन्दिर टोल कृषक समूहलाई बाख्रा वितरण गरेको छ । मेयर पकेट प्याकेज ग्रामिण बाख्रा साटासाट कार्यक्रम अन्तर्गत आज (बुधवार) १५ जना कृषकलाई ४५ वटा बाख्रा वितरण गरेको हो । प्रतिकृषक ३ वटाका दरले विमा गरिएका बाख्रा वितरण गरिएको हो । उक्त समूहलाई एउटा उन्नत जातको विउ बोकासमेत वितरण गरिएको छ । 

बाख्रा साटासाट कार्यक्रम बिर्तामोडमा २०७४ सालदेखि सञ्चालनमा छ । बिर्तामोडमा १८ वटा बाख्रा कृषक समूह छन् । कार्यक्रम सुरुभएदेखि अहिलेसम्ममा ८ सय १० वटा बाख्रा वितरण गरिसकिएको नगरका पशुपंछि तथा मत्स्य विकाश शाखा प्रमुख डा।.नगेन्द्र खड्काले जानकारी दिए। 

कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाईले थोरै भएपनि आय स्रोतको लागि  बाख्रा साटासाट कार्यक्रम प्रभावकारी रहेको बताए। यो कार्यक्रमले जीवनस्तर उकास्न सघाउ पुर्याउने बताए । नगर प्रमुख प्रसाईले बाख्रा पालनलाई उपलव्धीमुलक बनाउन जोड दिए। 

यस्तै कार्यक्रममा बोल्दै वडा नम्बर ७का वडाअध्यक्ष अविरल कृष्ण खरेलले कार्यक्रममा औषधी उपचार, विमाको सुविधा रहेकोले बाख्रामा कुनै क्षति नहुने बताए । उनले स्वरोजगारसँगै व्यवसायिक बन्न सबैलाई आग्रह गरे ।

आर्थिक विकास समिती संयोजक तथा कार्यपालिका सदस्य संगिता सिवाको अध्यक्षतामा सिताराम मन्दिर टोलमा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य सिता ढुंगाना विक, शाखा अधिकृत सावित्रा दाहाललगायतको उपस्थिति रहेको थियो ।