सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकाले घेराबारा गरेर आफुहरुलाई विस्थापित गर्ने नियत राखेको त्यहाँ बसोवास गर्ने स्थानीयले गुनासो गरेका छन् । कनकाई–४ स्थित कोटिहोम दक्षिण रहेको कविरकुटीमा २ बिगाहा १६ कठ्ठा जग्गामा बस्दै आएका पाँच घरपरिवार मध्ये केही बि.सं. २०२५ सालदेखि बस्दै आएको बताउँदै आफुहरुलाई नगरले अन्याय गरेकोे गुनासो गरेका हुन् ।

हजुरआमाहरु हरिमाया र तुलसादेवी सिटौलाको पालामा घना जंगल फडानी गरेर बस्दै आएका र आफुहरुका बुवा रामप्रसाद र आमा टीकामाया अझैपनि त्यहि बस्दै आएको रामप्रसादका छोरा भीमप्रसादले बताएका छन् ।
उक्त विवादित २ बिगाहा १६ कठ्ठा जग्गामा रामप्रसाद सिटौला, नैनाकला मिश्र, दिनेश मैनाली, देबेन्द्र मिश्र र दयाप्रसाद उप्रेतीको परिवार बस्दै आएका छन् ।
बि.सं. २०५२ सालमा स्थापना भएको कबिरकुटी आश्रमसँगै जग्गाका बिषयमा धेरै किचलो भएपछि त्यहाँ बसोवास गर्नेले सर्वोच्च अदालतमा रिट दायर गरेको स्थानीय दिनेश मैनालीले बताए । उनका अनुसार ९÷१० पछि सर्वोच्च अदालतले भोकचलन गर्नेको हकमा फैसला गरिदिएको थियो ।
नगर र वडाको सक्रियतामा उपभोक्ता समितिमार्फत घेरावारा गरेको भन्दै त्यहाँ बसोवास गर्नेले आपत्ति जनाएका छन् । आज (बुधवार) जग्गा स्थलमै पत्रकार सम्मेलन गरेर उनीहरुले आ–आफ्ना गुनासा राखेका थिए । ‘हामीले निस्सा पनि प्राप्त गरिसकेका छौं’ स्थानीय दिनेश मैनालीले भने ‘सार्वजनिक जग्गा नगरको हो भन्दै हामीलाई हटाउँछ भने कनकाई नगरमा भएका सवै सार्वजनिक जग्गाबाट हामी जस्ता सवैलाई हटाउनुपर्छ ।’ उनले नियम कानुन सवैलाई एकै प्रकार हुनु पर्ने बताए ।
त्यहाँ बसोवास गर्ने चन्द्रकला उप्रेती, नैनाकला मिश्र, रामप्रसाद सिटौलालगायतले आफुहरुले बर्षौदेखि जोतभोग गर्दै गरेको जग्गा हुनुका साथै निस्सासमेत प्राप्त गरिसकेकाले जोतभोग गर्न पाउनु पर्ने बताएका छन् ।
यता कनकाई विकास धाम संस्थाका अध्यक्ष शेरबहादुर थापाले नगरले स्थानीय बसोबासीसँग बसेर छलफल गर्नु पर्ने बताए । उनले स्थानीयलाई बिस्थापित नगरी नगरले समस्या समाधान गर्नुपर्ने बताएका छन् । त्यहाँ बसोबास गर्ने बषौंदेखि बस्दै आएको प्रमाण देखिएकाले उनीहरुलाई बिस्थापित नगरी धार्मिक संस्था कविरकुटी आश्रमलाई पनि स्थापीत गर्नु पर्नेमा उनले जोड दिए ।
कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले त्यहाँ बसोवास गर्नेलाई हटाउने योजना नरहेको बताएका छन् । अन्यत्रबाट अतिक्रमण हुन सक्ने भएकाले नगरपालिकाले घेराबारा गरेको बताए । उनीहरुसँग निस्सा दर्ता पनि भएकाले नगरले हटाउनु पर्ने अवस्था आए कुनै बेवस्था गर्न सक्ने बताएका छन् ।
यसैगरी कनकाई–४ का वडाध्यक्ष रोशन सुवेदीले त्यहाँ बस्ने अधिकांशको बाहिर आफुलाई पुग्दो सम्पत्ती भएको बताउँदै त्यो जग्गा अतिक्रमण गरेर बसेकाले नगरले नीति निर्माण गरेर हटाउने बताए । नगरमा अन्यत्र जग्गा नभएका भूमिहीन सुकुम्वासीलाई त्यहाँ ब्यवस्थापन गर्न सकिने भएकाले त्यसको छानविन गरेर हटाउन सक्ने बताएका छन् ।