सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकामा आगामी नीति तथा कार्यक्रमका लागि सरोकारवालाहरुसँग राय सुझाव संकलन गरेको छ । नगरले आर्थिक बर्ष २०८२/०८३ को बार्षिक नीति तथा कार्यक्रम तयारीका लागि रोकारवालाहरुसँग राय सुझाव संकलन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको हो ।

सोमवार कनकाई नगरपालिको सभाहलमा कनकाई नगरपालिकाको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा आगामी बजेटको खाकासमेत प्रस्तुत गरिएको थियो।
अन्तरक्रिया कार्यक्रममा आएका राय सुझावपछि सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले राय सुझाव लाई सम्पत्तिको रुपमा लिने र सबैको प्राप्त सुझावलाई आगामी बजेटमा समावेश गरि नीति तथा कार्यक्रम बनाउने प्रतिवद्वता जनाए । नगर प्रमुख पोखरेलले आगामी आर्थिक वर्षमा कृषि १ करोड ५० लाख, स्वास्थ्यतर्फ १ करोड २५ लाख त्यसैगरी शिक्षा तर्फ २ करोड ५ लाख विनियोजनको तयारीमा रहेकोे र पुनः आएका सुझावका आधारमा अझै बजेटको व्यवस्थापन गर्ने बताएका छन् । उनले अहिलेसम्म नदिनाला नियन्त्रणमा १० करोड बढीको काम गरिसकेको बताए । नगर प्रमुख पोखरेलले आगामी वर्षको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, पर्या प्रर्यटन, नदिनाला नियन्त्रण, जेष्ठ नागरिक दलित, अल्प संङख्या लगायत सबै क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिवद्वता जनाए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले ६८ करोड अनुमानित बजेटको खाका प्रस्तुत गरेका थिए । उनले यसैको सेरोफेरोमा रहेर बजेट निर्माण हुने त्यसैको निम्ति सुझाव संकलन सुरु भएको बताए । उनले विकास निर्माणका पक्षमा प्राप्त बजेट समयमा नै सम्पन्न गर्न समयमा उपभोक्ता समिति गठन नहुने, सम्बन्धित निर्माण कम्पनीले समयमा नै काम नसक्ने लगायतले केही समस्या हुनेगरेको बताएका छन् ।
कार्यक्रममा अधिकांश सहभागीहरुले शिक्षातर्फ सामुदायिक विद्यालयमा स्थानीय तह सहित ब्यवस्थापन समिति, शिक्षक अभिभावक नै जिम्मेवारीबाट पछाडी सरेको आरोप लगाएका छन् । त्यस्तै कृषि तर्फ बिना अनुगमन सामाग्री वितरण गर्दा सहि सदुपयोग नभएको, स्वास्थ्य तर्फ नगर अस्पताल सहित प्राथमिक उपचार केन्द्रमा आवश्यक औसधिसहित सामाग्री राख्न जरुरी रहेको, धार्मिक तथा प्रर्यटकिय क्षेत्रमा लगानी बढाई उल्लेखनीय रुपमा प्रर्यटक भित्र्याउन पहल गर्ने त्यस्तै नदिनाला नियन्त्रणमा थोरै काम गरेपनि रोकथाम मात्रै होईन लामो समयसम्म टिक्ने टिकाउने खालका ढुङ्गा जालीलाई प्राथमिकता दिनुपर्ने बताएका थिए ।
सहभागीहरुले पुर्वधारतर्फ ठेकेदारबाट जिम्मेवारी ढङ्गबाट समयमा काम सम्पन्न नहुनु, अनुगमन लाई प्राथमिकता भन्दा कम समय दिनु त्यस्तै कार्यालय प्रमुखसहित सम्बन्धित शाखा प्रमुख कार्य अवधि पुरा नभई परिवर्तन हुनु लगायतले नगरको काम कारबाही प्रभावित भएको अन्तरक्रियामा गुनासो राखेका थिए ।
अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी केन्द्रका नगर सचिव तेजबहादुर आचार्य, नेपाली कांग्रेस नगर सचिव रेणुप्रसाद कँडेल, रास्वपा नगर अध्यक्ष मोहन थापा, गोपालप्रसाद चुडाल, जेष्ठ नागरिक नगर अध्यक्ष सम्भुप्रसाद पोखरेल, सुरुङ्गा बजार ब्यवस्थापन समितिका अध्यक्ष, लक्ष्मीपुर खानेपानी संस्थाका उपाध्यक्ष, कनकाई उद्योग वाणिज संघका महासचिव सरोज सिटौला, प्रजापति सामुदायिक वनका अध्यक्ष मात्रिकाप्रसाद पोखरेल, कनकाई सामुदायिक वनका अध्यक्ष खेम प्रसाद ओली, जामुनबारी बनका सचीव दिपक ओली, शिक्षक चन्द्रप्रसाद पोखरेल, बालबालिकाका तर्फबाट कनकाई नगर बाल सन्जालका अध्यक्ष विजय तिवारी, कनकाई अपांगता स्वभलम्बन संस्थाका अध्यक्ष पुष्पलाल घिमिरे लगायतले विभिन्न सुझाव दिएका थिए ।
कार्यक्रममा कनकाई नगरका सम्पूर्ण जनप्रतिनिधि, टोल समितीका संयोजकसहित प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि नगर तथा वडा स्तरीय महिला समूह, कृषक समूह, बजार ब्यबस्थापन समिति , विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि खानेपानी संस्थाका प्रतिनिधि, नगर महिला तथा बालबालिका शाखा प्रमुख टीका खतिवडा, लेखा साखा प्रमुख क्षेत्रनाथ शर्मा, जिन्सी शाखा प्रमुख भोजराज आचार्य योजना शाखा सम्पुर्ण कर्मचारी लगायत २ सय बढीको उपस्थित रहेको थियोे ।
सुझाव संकलनार्थ गरिएको अन्तरक्रियामा नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीले स्वागतगरेकी थिइन् । उनले प्राप्त सुझावलाई आत्मसाथ गर्दै महिला बालबालिकालाई समेत प्राथमिकता राख्ने बताइन् । कार्यक्रमको सहजीकरण प्रशासकीय अधिकृत जमुना कटुवालले गरेकी थिइन् ।