बिर्तामोड ।
बिर्तामोड उद्योग वाणिज्य संघका सचिव राजकुमार शाहले आफ्नो २५ औं वैवाहिक वर्ष गाठको अवसरमा संघले सञ्चालनमा ल्याएको राहत कोषका लागि २५ हजार रुपैयाँ प्रदान गरेका छन् ।

श्रीमती संगीता शाहसंग उद्योग वाणिज्य संघ बिर्तामोडमा आएका शाहले संघका अध्यक्ष राजु न्यौपानेलाई २५ हजार रुपैयाँ प्रदान गरेका हुन् । बिर्तामोड उद्योग वाणिज्य संघले एक करोड रुपैयाँ बरावरको ब्यवसायी सदस्य राहत कोष स्थापना गरेको छ ।
सो कोषमा बिर्तामोडका आम उद्योगी व्यवसायी, सामाजिक क्षेत्रका अगुवाहरुले आफ्नो जन्म दिन, विवाह उत्सव र पितृको स्मृतिमा रकम प्रदान गर्दै कोष वृद्धिका लागि सहयोग गर्दै आएका छन् ।
यसैक्रममा संघका सचिव शाहले पनि कोष वृद्धिका लागि भन्दै आर्थिक सहयोग गरेका हुन् । संघका अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष कुमार भट्टराईले संघले संचालन गरेको कोष प्रभावकारी बन्ने र दुःखमा परेका व्यवसायीहरुको सहयागी बन्ने बताए ।
कार्यक्रममा कोषका संयोजक राजकुमार घिमिरे ‘राजु’ उपाध्यक्षत्रय विशाल थापा, जीवन खड्का, गोमा भट्टराई त्यस्तै व्यवसायीहरु गणेश मादेन, धर्म शाह, लगायत सहभागी थिए । कोष वृद्धिमा सहयोग पु¥याएको भन्दै शाह दम्पत्तिलाई संघले कदरपत्रद्वारा सम्मान गरेको छ । कार्यक्रमको संचालन संघका कोषाध्यक्ष युवराज निरौलाले गरेका थिए ।