विराटनगर।
झापा, मोरङ, सुनसरी र भोजपुरको बिभिन्न स्थानहरुबाट लागूऔषध ब्राउन सुगरसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारे बजारबाट इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले सोहि स्थानका ३३ बर्षीय उत्तम कार्कीलाई ३ ग्राम १ सय ५० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।

अस्थायी प्रहरी पोष्ट बसपार्क झापाले रुपन्देहीको बुटवल नगरपालिका–३ की २५ बर्षीया निर्मला थापालाई ५ सय २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
यसैगरी लागूऔषध नियन्त्रण ब्युरो विराटनगरले विराटनगर महानगरपालिका–१५ र १६ स्थितबाट धरान उप–महानगरपालिका–१२ का २९ बर्षीय बसन्त तामाङलाई ब्राउन सुगर २ ग्राम ८८ मिलिग्राम र मोरङको सुन्दरहरैचा नगरपालिका–३ का २० बर्षीय दिवश तामाङलाई १ ग्राम ७१ मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।
यसका साथै इलाका प्रहरी कार्यालय महेन्द्रनगरले सुनसरीको बराहक्षेत्र नगरपालिका–७ सोमबारे स्थितबाट सोही स्थानका २५ बर्षीय धिरज राईलाई २ ग्राम ३ सय ५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
यसैगरी लागुऔषधको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले भोजपुर नगरपालिका–७ स्थित २४ बर्षीय संजय राईको कोठाबाट ३ ग्राम ४ सय ७० मिलिग्राम लागूऔषध ब्राउन सुगर, गाँजा १८ ग्राम र नगद ७० हजार रुपैयाँ फेलापारी कारोबारमा संलग्न भोजपुरको भोजपुर नगरपालिका–७ का १९ बर्षीय मौसम राई, भोजपुर-९ का २० बर्षीय रेन्जि शेर्पा, भोजपुर–५ का २० बर्षीय संगित राई, भोजपुर–७ का २० बर्षीय युकेश राई, १९ बर्षीय उचित राई, भोजपुर–६ का २९ बर्षीय दिपेश राई समेतलाई नियन्त्रणमा लिएको हो । लागूऔषधसहित पक्राउ परेका सबै जनाको सम्बन्धीत प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।