बिर्तामोड । 

मेलमिलापकर्ताहरुलाई न्याय सम्पादनमा सहजीकरण गर्ने उद्देश्यले सञ्चालित चार दिवसीय लेखनसीप कार्यशाला बिर्तामोडमा सम्पन्न भएको छ । 

बिर्तामोड नगरपालिकाको आयोजना तथा टाइम्स मिडिया नेटवर्कको सहजीकरणमा लेखनसीप सम्पन्न भएको हो । बिर्तामोड नगरपालिकाका मेलमिलापकर्ताहरु सहभागी भएको लेखनसीपमा झापा जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकेशरी पोखरेल, झापा बारका अध्यक्ष बसन्त नेपाल र अधिवक्ता कोपिला अधिकारीले सहजीकरण गरेका थिए । 

वडा तहसम्म रहेका मेलमिलापकर्ताहरुलाई कार्यक्रममा लिखतका प्रकार, कानुनी व्यवस्था, मस्यौदा, निवेदनको ढाँचा, लेनदेन, कारोवार, बैनाबट्टा, जाहेरी, करारनामा, संयुक्त दरखास्त, मिलापत्र र वारेनामा लगायतका लिखतहरुमा सहजीकरण गरिएको थियो । 

गत बिहीवार नगर उपप्रमुख एवम् न्यायिक समितिका संयोजक नगेन्द्रप्रसाद संग्रौलाले शुभारम्भ गरेको कार्यक्रमको नगर प्रमुख पवित्रादेवी महतारा प्रसाईको प्रमुख आतिथ्यतामा समापन गरिएको थियो । 

समापन कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले मेलमिलापकर्ताहरुको क्षमता विकासमा नगरपालिकाले जोड दिएको बताए। वडा तहसम्म मेलमिलापलाई प्रभावकारी बनाउन मेलमिलापकर्ताहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रशंसा गरे । उनले मेलमिलापकर्ताहरुलाई लेखनसीप समेत प्रदान गरेपछि लिखतका समस्याहरु पनि समाधान हुँदै जाने बताए। 

न्यायिक समितिका सदस्य खडानन्द निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुको तर्फबाट लिलरुपा श्रेष्ठ, ओमभक्त सेंडाई, लक्ष्मी प्रसाद गौतम लगायतले कार्यक्रम प्रभावकारी भएको धारणा राखेका थिए । सहभागीहरुलाई प्रमुख अतिथि नगर प्रमुख प्रसाईले प्रमाणपत्र वितरण गरेकी थिइन् ।