झापा । 

कुवेतमा एक जना झापालीसहित तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । केही दिन अघि झापा बिर्तामोड–१ हनुमान नगरका ३३ वर्षीय विकास कार्कीको मृत्यु भएको खबर बाहिरिएको थियो । 

 कुवेतको दुई अलग ठाउँमा भेटिएका शव मध्ये तीनै जना नेपाली भएको पुष्टि भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको हो । कुवेतबाट प्रकाशन हुने अरब टाइम्स दैनिकका अनुसार खैतान भवनको छतमा २ जना एसियाली मुलुकका आप्रवासी कामदारको शव फेला परेको छ ।

मृत्युको कारणबारे अनुसन्धान भइरहे पनि विषाक्त मदिरा सेवन भएको अनुसन्धानमा खटिएको सुरक्षा स्रोतलाई उद्धृत गर्दै अरब टाइम्सले उल्लेख गरेको छ । घरको छतमा भेटिएका शवको फरेन्सिक रिपोर्टअनुसार शवमा कुनै पनि प्रकारको शारीरिक आक्रमण वा हिंसा भएको संकेत नदेखिएको जनाइएको छ ।

कुवेतकै सुविया मरुभूमिमा केही दिन अधि भेटिएको शव झापाको बिर्तामोड नगरपालिका–१ हनुमान नगरका ३३ वर्षीय विकास कार्की भएको जनाएको छ ।

अनुसन्धानमा खटिएको सुरक्षा स्रोतलाई उल्लेख गर्दै अरब टाइम्सले मरुभूमिमा भेटिएको शवको घटनामा आपराधिक समूहको हात रहेको आशंका गरिएको छ । केहीदिन विकासको परिवारले निधन भएको बताउँदैै मृत्युको कारण नखुलको जनाएको थियो ।