बिर्तामोड ।
सवैका प्रेरणाका स्रोत बनेका झापा बिर्तामोड–१ का सामाजिक तथा ब्यवसायिक ब्यक्तित्व बिनोद बस्नेतको मृत्युले धेरैको आँखा रसाएका छन् । सवैको मन जितेका र जित्न सफल बस्नेले आफैसँग किन हारे भन्ने सवैलाई कौतुहलता भएको छ ।

झापा गोल्डकपका निवर्तमान अध्यक्षसमेत रहेका वस्नेतको स्वेच्छिक मरण सवैलाई अपत्यारिलो भएको छ । बिर्तामोड–१ जगतबस्ती टोल निवासी बस्नेतले शुक्रवार स्वेच्छिक मरणको बाटो रोजेका छन् । उनी आफ्नै वेडरुमको सिलिङ फेनमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका थिए । ५२ वर्षीय वस्नेत विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध थिए ।
सयपत्री ट्रेड लिंक लगायत विभिन्न प्रतिष्ठानका सञ्चालक समेत रहेका उनी नेपाल उद्योग वाणिज्य संघ कोशीको कार्यसमिति सदस्य, मेची पेट्रोलियम डिलर्स एशेसिएसनका महासचिव, जेसीज पूर्व अध्यक्ष समाजका अध्यक्ष, एकका लागि एक अभियानका सह–संयोजक हुन् । उनी रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्ष, नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष समेत रहेका थिए ।
स्व. वस्नेतकी श्रीमती कोपिला अधिवत्ता हुन । उनकी एक छोरी विभूति रहेकी छन् । उनी एमबीबीएस अध्ययनरत रहेकी छिन् । वस्नेतको निधनसँगै बिर्तामोडवासी शोकमा डुवेका छन् ।
कोशी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री उद्धव थापादेखि समाजका अग्रज, प्रतिष्ठित एवम् विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले सामाजिक सञ्जालबाट श्रद्धाञ्जलि व्यक्त गरिरहेका छन् ।आजै बस्नेतको कनकाई माई आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।