बिर्तामोड ।
वैदेशिक रोजगार व्यवसायी संघ झापामा आवश्यक भन्दा धेरै आकांक्षी भएपछि नयाँ नेतृत्व लम्बिएको छ । संघले बिहीवार बिर्तामोडमा प्रथम अधिवेशनको खुल्ला सत्र सम्मपन्न गरेपनि नेतृत्व चयनमा केही समय लाग्ने देखिएको छ ।

नयाँ कार्यसमिति चयन गर्ने प्रथम अधिवेशन सकिए पनि निर्वाचन भने लम्बिएको छ । अध्यक्षमा संघका अध्यक्ष धनबहादुर पंधाक निर्विरोध निर्वाचित भइसकेका छन् । यसैगरी सह–सचिवमा सरिता बराल निर्विरोध निर्वाचित निर्वाचित भएकी छिन् ।
तर, अन्य पदमा भने आवश्यक भन्दा बढी सदस्यको उम्मेदवारी दर्ता भएपछि सहमतिको प्रयास जारी रहेको र आज (शुक्रवार) बेलुकासम्ममा सहमति हुने संघका द्वितीय उपाध्यक्ष कर्णबहादुर पौडेलले बताए ।
प्रथम उपाध्यक्ष र द्वितीय उपाध्यक्षमा तीन–तीनजनाको उम्मेदवारी परेको छ । प्रथम उपाध्यक्षमा अजयकुमार देव, राजन सिलवाल र नारायण कोइरालाको उम्मेदवारी परेको छ । त्यस्तै, द्वितीय उपाध्यक्षमा कर्णबहादुर पौडेल, अञ्जु लामिछाने र प्रकाश राईले उम्मेदवारी दिएका छन् ।
सचिवमा हालका सचिव सिपी पाठक, गौराीमान राई र निरन पोखरेलको उम्मेदवारी रहेको छ । कोषाध्यक्षमा कृष्ण खतिवडा, विनोद राई र कुमार लिम्बूले उम्मेदवारी दिएका छन् ।
नौजना सदस्यका लागि १९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । सहमति नभए निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन हुनेछ । झापाका १५० म्यानपावरका शाखा कार्यालय भएपनि संघमा १०५ वटा मात्र सदस्य छन् ।