झापा ।
नेपाल सरकारले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै आतंकवादविरुद्धको लडाइँमा नेपाल सबैका साथमा रहेको जनाएको छ ।

भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणबाट एक नेपाली नागरिकसहित २६ भारतीय पर्यटकले ज्यान गुमाएका थिए । उक्त घटनापछि भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत चिन्ता व्यक्त गरेको हो ।
यस दुःखद् घडीमा नेपाल र भारत साझा दुःख र पीडामा एकताबद्ध भई ऐक्यबद्धतामा उभिएका विज्ञप्तिमा उल्लेख छ । नेपालले सबै प्रकारका आतङ्कवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त बर्बर आतङ्कवादी हमलाको तत्काल र निःसन्देह रूपमा भत्र्सना गरेको थियो । ‘आतङ्कवादविरुद्धको लडाइँमा नेपाल सबै पक्षसँगै उभिएको छ ।
आफ्नो सैद्धान्तिक अडान अनुरूप, नेपालले कुनै पनि शत्रूतापूर्ण शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न दिने छैन’ मन्त्रालयलको विज्ञप्तिमा उल्लेख छ ।मन्त्रालयले उक्त तनाव कम हुने आशा गर्दै यस क्षेत्रमा दिगो शान्ति र स्थायित्वका लागि आफ्नो प्रतिबद्धतालाई पुनःपुष्टि गरेको छ ।
गृह मन्त्रालयले पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । सीमा क्षेत्रको सुरक्षा मजबुत बनाउन सरकारले दिएको निर्देशनपछि सुरक्षा निकायले सुरक्षा निगरानी थप बढाएको हो ।