झापा । 

बैदेशिक रोजगार विभागलाई म्यानपावर ब्यवसायीहरुले ध्यानाकर्षण गराएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा गएरको व्यवसायीहरुको टोलीले वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईलाई ध्यानाकर्षण गराएका हुन् । 

संघको नेतृत्वले नवनियुक्त महानिर्देशक भट्टराईलाई बिहीबार विभागमा भेट गरेर बधाई तथा कार्यकाल सफलताको शुभकामनासहित वैदेशिक रोजगार प्रशासनमा रहेका समस्या अवगत गराउँदै समाधानका लागि आग्रह  गरेका हुन् । 

उनीहरुले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा देखिएका समस्यासहित प्रमुख तीन समस्या तत्काल समाधान गर्न आग्रह गरेका छन् । 

संघले फेमिसमा देखिएको समस्यासहित अनुगमन तथा व्यवसायीविरुद्ध जारी हुने पक्राउ पुर्जी र उजुरीको मेलमिलाप प्रक्रियाबाट समाधान खोज्ने विषयलाई प्राथमिकतामा राख्ने सम्बन्धमा महानिर्देशक भट्टराईको ध्यानाकर्षण गराएको थियो । 

 नवनियुक्त महानिर्देशक भट्टराईले वैदेशिक रोजगार प्रशासनमा रहेका प्राविधिक, प्रशासनिक तथा नीतिगत समस्या समाधानका लागि आफूले सकारात्मक पहल गर्ने आश्वासन दिएका छन् ।

अध्यक्ष भुवनसिंह गुरुङको नेतृत्वमा गएको संघको टोलीमा संघका पदाधिकारी र सदस्य तथा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष दीपक थापालगायतका व्यवसायीहरू सहभागी थिए ।