बिर्तामोड ।
बैदेशिक रोजगार व्यवसायलाई मर्यादित, सुरक्षित बनाउने उदेश्यले स्थापना भएको वैदेशिक रोजगार व्यवसायी संघ झापाको प्रथम अधिवेशन भएको छ । बैदेशिक रोजगार सम्बन्धी उतारचढावका साथ बिभिन्न तदर्थ समितिमार्फत झापाका म्यानपावर ब्यवसायीहरुको हकअधिकार सुरक्षित गर्दै आएको संघले गत २०८१ साउन २ गते बिधिवत रुपमा संस्था दर्ता गरेको थियो ।

सोही संघले आज (विहीवार) बिर्तामोडमा प्रथम अधिवेशनको आयोजना गरेको हो । पहिलो पटक देशभरमा म्यानपावर शाखा कार्यालयसँगै ब्यवसायीहरुको हकहितलाई सुरक्षित गर्न एकताका लागि म्याननपावर ब्यवसायीहरु संगठित भए । सोही क्रममा झापामा पनि भानुप्रसाद शिवाकोटीको अध्यक्षता तथा धनबहादुर पंधाक उपाध्यक्ष रहेको तदर्थ समिति गठन भएको थियो ।
त्यसपछि धनबहादुर पंधाकको अध्यक्षतामा गठित समिति पनि विभिन्न उत्तराचढावको बावजुद पटक–पटक फेरबदल हुँदै करिव १३ बर्षको अहोरात्र परिश्रम र अथक प्रयासपछि संस्था दर्ता ऐन २०३४ को अधिनमा रहेर संघ गठन गरिएको संघका अध्यक्ष धनबहादुर पंधाकले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
झापामा एक ५० म्यानपावर कम्पनीका शाखा कार्यालय रहेपनि हालसम्म एक सय पाँच वटा मात्र संघमा आवद्ध रहेका संघका अध्यक्ष पंधाकले बताएका छन् । अध्यक्ष पंधाकले नीतिगत सुधारको आवश्यकतामा जोड दिनु पर्नेमा जोड दिदै ब्यवसायीहरुको कुनै गल्ति कमजोरी नभएपनि कामदारलाई पीडित र व्यवासयीलाई पीडक बुझ्ने समाज र राज्यको पक्षपाती न्यायको अन्त्य गर्न पनि संगठित हुन आवश्यक रहेको बताए ।
संघका अध्यक्ष धनबहादुर पन्धाकको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ काठमाडौंका वरिष्ठ उपाध्यक्ष सजितकुमार श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा अग्रज ब्यवसायीका रुपमा भानुप्रसाद शिवाकोटीलाई संघले सम्मानसमेत गरेको थियो भने संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई कदरपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, निर्वाचन समितिका संयोजक गोपाल लामिछाने, वैदेशिक रोजगार व्यवसायी महासंघका केन्द्रिय सदस्य कृष्ण ढकाल, संघका झापा सल्लाहकार संयोजक भानुप्रसाद शिवाकोटी, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका डिएसपी बिजय श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
स्वागत संघका प्रथम उपाध्यक्ष अजयकुमार देव गरेको कार्यक्रममा औचित्यमाथि प्रकाश द्धितीय उपाध्यक्ष कर्ण पौडेलले पारेका थिए । कार्यक्रमको सञ्चालन संघका सचिव चन्द्रप्रसाद पाठक (सीपी) ले गरेको थिए । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।