झापा ।
पहलगाम आक्रमणको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीर (पीओके०) मा रहेका आतंकवादीका ९ अखडामा हवाई हमला गरेको छ। भारतीय समयअनुसार बुधबार राति १ः३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा अपरेसन सिन्दुरु अन्तर्गत भारतले हवाई आक्रमण गरेको हो।

भारतको दाबीअनुसार यी तिनै स्थान हुन्, जहाँबाट भारतमा आतंकवादी हमलाहरूको योजना बनाइएको थियो र कार्यान्वयन गरिएको थियो। भारतीय पत्रिका दैनिक भास्करले पाकिस्तानबाट प्राप्त स्थानीय रिपोर्टअनुसार भनेर बहावलपुरमा भएको हवाई आक्रमणमा ३० जनाको मृत्यु भएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार लश्कर र जैशको मुख्यालय ध्वस्त पारिएको छ। पाकिस्तानको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएिपीआर) का निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको बताए।
समाचार एजेन्सी एएनआईले स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर अपरेसन सिन्दुरको निगरानी गरे। भारतीय सेनाले पाकिस्तानी सैन्य अखडामा आक्रमण नगरिएको, आतंककारी लुक्ने स्थानलाई मात्र निशाना बनाइएको जनाएको छ।