धुलाबारी ।
झापाको मेचीनगर–१० धुलाबारीमा द गोस्सपेल हाउस अफ प्रेयर (मण्डली) सु–समाचारीय प्रार्थना घर सञ्चालनमा आएको छ । आम मनुष्य तथा युवा वर्गलाई सही बाटोमा ल्याउने पवित्र उदेश्यका साथ मण्डली घर सञ्चालनमा आएको हो ।

स्थानीय समाजसेवी सूर्यप्रसाद राईले उक्त ठाउँमा १ कट्ठा जमिन निःशुल्क प्रदान गरेका थिए । त्यस ठाउँमा स्थानीय चन्द्रमाया राईले मण्डली घर बनाइदिएकी हुन् । उक्त मण्डली घर बनाउन करिब ३० लाख रुपैयाँ खर्च भएको छ । मण्डली घरमा ७० जना आबद्ध छन् ।
सो मण्डली घरमा हरेक शनिबार आराधना संगती, बाल संगती, जवान संगती हुने मण्डली घरका अध्यक्ष सूर्यप्रसाद राईले बताए । उनले बढ्दो युवाहरु कुलतमा फँसेकाले तिनीहरुलाई सही बाटोमा ल्याउन मण्डली घर उपयोगी बन्ने बताए ।
मंगलबार एक कार्यक्रमका बीच प्रदेश सांसद गोपाल तामाङले उक्त मण्डली घर उद्घाटन गरेका छन् । उनले सबै धर्मलाई समान रुपमा हेरिनु पर्ने चर्चा गरे ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक पाण्डव राजवंशी, समाजसेवी प्रकाश खड्का, कैलाश भट्टराई लगायतको आतिथ्यता रहेको थियो । सोही अवसरमा रेग्रेन डा। केबी, पाष्टर जाफतो, पाष्टर आदन तथा मण्डली पाष्टर दानियल राईको उपस्थिति रहेको थियो ।