दुर्गापुर ।
झापाको कनकाई नगरपालिकाले महिलाहरूलाई स्वरोजगारसहित आत्मनिर्भर हुने तालीमलाई तिव्रता दिएको छ। महिलाहरूले आत्मनिर्भरसहित स्वरोजगारको बाटो अपनाई सहज तवरबाट जीवन सञ्चालन होस भन्ने उदेश्यले तालिम दिदै आएको छ।

नगरपालिका विभिन्न वडा तथा नगरबाट नै महिला लक्षित कार्यक्रम अन्तर्गत छुट्टाछुट्टै बजेटको ब्यवस्थापन गर्दै सबै जस्तो वडा कार्यलयहरुले यस्तो तालिमलाई तिव्रता दिएको नगर उप–प्रमुख आशा शर्मा शिवाकोटीले जानकारी दिइन् ।
यसैबीच कनकाई–७ मा उद्वघोषण तथा माइन्यूट लेखन वडा न ४ मा ४५ दिने सिलाई कटिङ्गको तालीम , कनकाई ३ मा नगरपालिकाको समन्वय र घरेलु तथा साना उद्योगको आर्थिक सहयोगमा ४५ दिने ढाका बुन्ने तालिम, कनकाई–३ मा कम्प्युटर सिक्ने ३ महिने तालिम सुरु भएका छन् ।
यसैबीच कनकाई वडा न ७ मा आजबाट ५ दिने उद्वघोषण तथा माइन्यूट लेखन तालिम सुरु भएको छ। वडा कार्यलयद्वारा आयोजित ‘महिला सशक्तिकरण, क्षमता विकासका लागि उद्घोषण तथा म्यानुअल लेखन सम्बन्धी’ पाँच दिने अभिमुखिकरण तालिम सोमवारबाट शुरू भएको हो।
तालिमको अध्यक्षता वडा नम्बर ७ की कार्यवाहक अध्यक्ष अरुणा सुब्बाले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन वडा सचिव तुलसा थापाले गरेकी थिइन् । कार्यक्रममा कार्यपालिका सदस्य भगन टुडु, निर्मला आङथोपा, सावित्रा सार्की लगायतको उपस्थिति रहेको थियो। वडाभित्रका १० वटा टोल विकास समितिबाट २० जना प्रतिनिधित्व गरी कुल २० जना महिलाहरूको सहभागिता रहेको थियो।
उद्घोषण तथा म्यानुअल लेखन सम्बन्धी’ सहजीकरण सञ्चारकर्मी भरत प्रसाई र निराजन निरौलाले गरिरहेका छन् । तालिम बैशाख २६ गतेसम्म सञ्चालन हुनेछ ।
उता वडा न ३ मा पनि सोमबारदेखि नगरपालिकाको समन्वयमा तथा घरेलु तथा साना उद्योगको आर्थिक सहयोग मा ४५ दिने ढाका बुन्ने तालिम पनि सुरु भएको छ। नगर उप प्रमुख आशा शर्मा शिवाकोटीले प्रशिक्षार्थीलाई प्राप्त अवसरको सही सदुपयोग गर्दै सीप सिक्न सुझाव दिएकी थिइन् । त्यसैगरि कनकाई–४ मा पनि वडाका १५ वटै टोलका २/२ जना गरि ३० जनालाई ४५ दिने सिलाई कटिङ्गको तालीम दिन सुरु भएको छ।