बिर्तामोड ।
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । नेपालमा पनि मे ३ को दिन प्रेस स्वतन्त्रता दिवस मनाइने गरेको छ । नेपाल पत्रकार महासंघसहित महासंघ अन्तरगतका शाखाहरुले आज बिभिन्न कार्यक्रम गरेर प्रेस स्वतन्त्रता दिवस मनाउँदै छ ।

महासंघसहित पत्रकारजन्य संघसंगठनले आज (शनिवार) प्रेस स्वतन्त्रका आधारभूत सिद्धान्तहरूको उत्सव मनाउने, विश्वभरि प्रेस स्वतन्त्रताको मूल्याङ्कन गर्ने, मिडियालाई उनीहरूको स्वतन्त्रतामाथि हुने आक्रमणबाट जोगाउने र आफ्नो पेशाको अभ्यासमा ज्यान गुमाएका पत्रकारहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै आज विश्वभर यो दिवस मनाउने गरिन्छ ।
यसैक्रममा नेपाल पत्रकार महासंघ झापाले बिर्तामोडमा ‘प्रेस स्वतन्त्रताका लागि राजनीतिक दलहरुको प्रतिवद्धता’ विषयक अन्तरसंवादमा कार्यक्रम आयोजना गरेको छ ।
प्रेस स्वतन्त्रताप्रति राजनीतिक दलहरुसहित सरोकारवालाहरुलाई जिम्मेवार बनाउने, प्रेसको भूमिका संकुचित हुन नदिन उनीहरुको दायित्व स्मरण गराउने, सञ्चारकर्मीहरुलाई पत्रकार आचारसंहिता पालना, मर्यादित र व्यवसायिक पत्रकारिताको विकासमा आफ्नै भूमिकाको समीक्षा र प्रेस स्वतन्त्रताबारे झकझकाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको महासंघ झापा हअध्यक्ष एकराज गिरीले जानकारी दिए ।
अध्यक्ष गिरीका अनुसार अन्तरसम्वादमा पछिल्लो समय प्रेस माथिको बढ्दो आक्रमण तथा अन्य सम्वन्धित विषयमा गहन छलफल साथै झापाका राजनीतिक दलका प्रमुखहरुलाई प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध र जिम्मेवार बनाउन अर्थपूर्ण हुने विश्वास गरिएको छ ।
संयुक्त राष्ट्रसंघको महासभाले मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रूपमा घोषणा गरेको छ । विश्व प्रेस दिवस सन् १९९१ मा विन्डहोकमा अफ्रिकी समाचारपत्र पत्रकारहरूले संयुक्त रूपमा राखेको स्वतन्त्र प्रेस सिद्धान्तको वक्तव्य अनुरूप, प्रेस स्वतन्त्रताको महत्वको बारेमा जाग रूकता बढाउन र सन् १९४८ को मानव अधिकारको धारा १९ अन्तर्गत निहित अभिव्यक्ति स्वतन्त्रताको अधिकारको सम्मान र समर्थन गर्न र विन्डहोक घोषणाको वार्षिकोत्सवको अवसरमा सरकारहरूलाई उनीहरूको कर्तव्य निभाउनका लागि उत्प्रेरित गर्दछ ।