बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका–५ स्थित कृषिथोक बजार व्यवस्थापन समितिले ‘हिनामिना’ गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

कृषिथोक बजार व्यवस्थापन समितिका अध्यक्ष समेतको मिलेमतोमा हिनामिना भएको भन्दै उजुरी परेपछि यथार्थ छानबिनसँगै आवश्यक कारबाही गर्न कृषि विभाग हरिहरभवन ललितपुरलाई अख्तियारले पत्र काटेको हो ।

गत चैत ३१ गते अख्तियारले विभागलाई काटेको पत्रमा भनिएको छ ‘जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नं. ५ स्थित कृषिथोक बजार व्यवस्थापन समितिका अध्यक्ष समेतको मिलेमतोमा बजार समितिको कार्यालय सञ्चालन गर्ने कोठा निर्माण गर्दा सामग्री आफू खुसी खरिद गरेको साथै बजारको आर्थिक आम्दानी समेत हिनामिना गरेको भन्ने समेत व्यहोराको यस कार्यालयमा दर्ता भएको उ.द.नं. १२–००५३०९, मिति २०८१/०४/१६ को उजुरीको सम्बन्धमा सम्मानित आयोगमा पेश हुँदा देहाय बमोजिम कृषि विभाग, हरिहरभवन ललितपुरलाई आवश्यक कारबाहीको लागि लेखी पठाउने भन्ने आयोगको मिति २०८१/१२/३१ को निर्णय अनुसार अनुरोध छ ।’

अख्तियारले कोटेको पत्रमा ‘कृषि बजार व्यवस्थापन समितिले खरिद गर्दा खरिद कानूनको पूर्ण रुपमा पालना नगरेको, बिल भर्पाईहरु भुक्तानी दिँदा समितिले अनुमोदन गरेको नदेखिएको, अन्य जे–जति भए गरिएका कार्यहरु प्रायजसो बजार व्यवस्थापन समितिको निर्णय बिना गरिएको सम्बन्धमा प्रचलित कानून बमोजिम गर्नु गराउनु हुन’ उल्लेख छ । 

यता, कृषिथोक बजार व्यवस्थापन समिति पूर्वअध्यक्ष कमल पौडेलले विभागले सत्य–तथ्य छानबिन गरेर अनियमितताबारे स्पष्ट पार्नु पर्नेमा जोड दिए । अख्तियारमा उजुरी पर्दा कृषिथोकको विकासका लागि चालू आर्थिक वर्षमा सरकारले छुट्याएको बजेट समेत अन्योलमा परेको उनको भनाइ छ । ‘कृषि थोकको विकास लागि छुट्टिएको करिब साढे पाँच करोड अन्योलमा परेको सुनेको छु’  उनले भने ‘विभागले सही गलत छुट्याएर बजेटको अन्योलता हटाउन जरुरी छ ।’

बजार ब्यवस्थापन समितिका पूर्व सदस्य तथा ब्यवसायी धर्मप्रसाद बरालले २७२ किलो सामान किनेर ३६८ किलोको बिल फस्यौट भएको भन्दै त्यसको बिरोध गरेका छन् । उनले काम गर्ने तौरतरिका नमिलेकाले आफ्नो नजरमा समिति छैन जस्तो लागेको बताए । उनले यहाँ बिकास गर्न बिभागले छुट्एको रकम खर्च गर्ने मान्छे गतिलो नभेटेकाले फ्रिज हुने अवस्था रहेकाले आफुहरु चिन्तित भएको उनको भनाई छ । 

 यता कृषिथोक बजार व्यवस्थापन समितिका अध्यक्ष निरज ओलीले आफुमाथि झुटा, निराधारा, कपोकल्पित र मिथ्या आरोप  भएको भन्दै कुनै सत्यता नभएको बताउँदै आएका छन् । 

ujuri