झापा ।
बैदेशिक रोजगारको प्रलोभनमा पारेर ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर विभिन्न देश पठाइदिने बहानामा ठगी गर्ने ४ जनालाई बिहीवार नेपाल प्रहरीले पक्राउ गरेको छ ।

विदेश पठाइदिने नाममा मोटो रकम लिई सम्पर्कविहीन भएका भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–५ घर भएका ३९ वर्षीय सम्पूर्ण केसी, सोही नगरपालिका– ३ बस्ने काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–३ का २९ वर्षीय सुजन गिरी, काठमाडौं महानगरपालिका–३ बस्ने पाल्पा रम्भा गाउँपालिका–५ का ५८ वर्षीय शिरबहादुर बराल र तारकेश्वर नगरपालिका–४ घर भएकी ३३ वर्षीया सरस्वती देवकोटा छन् ।
उनीहरूले ५ जना व्यक्तिसँग विभिन्न मुलुक पठाइदिने नाममा ७० लाख १५ हजार ठगी गरेका उजुरी परेको जिल्ला प्रहरी परिसर टेकुले जनाएको छ ।
पक्राउ परेकामध्ये सम्पूर्ण केसीले यूके पठाउने भन्दै एक जनाबाट ३५ लाख, सुजनले यूके पठाउने भन्दै एक जनाबाट २६ लाख ६५ हजार, शिरबहादुरले दक्षिण कोरिया पठाउने भन्दै एक जनाबाट ७ लाख ५० हजार र सरस्वतीले यूएई पठाइदिने भन्दै २ जनाबाट १ लाख रुपैयाँ लिई सम्पर्कविहीन थिए । उनीहरूलाई केही दिनदेखि प्रहरीले सूक्ष्म निगरानी गरिरहेको प्रहरीको भनाइ छ ।
प्रहरीले वैशाख महिनामा वैदेशिक रोजगारीको प्रलोभनमा ठगी आरोपमा १३ जनालाई पक्राउ गरेको र उनीहरूले २२ जनाबाट १ करोड ४३ लाख ८५ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको जनाएको छ ।