झापा । 

आज १३६ औं अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि मनाइँदैछ । यस वर्ष अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासंघ स्वतन्त्रलगायतका मजदुर सङ्गठन, नेपाल ब्यापार कर्मचारी संघ (युनकम) सभालगायतका विविध कार्यक्रम गरी मनाउन लागेका जनाएका छन् ।

युनिकमले अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर आज बिर्तामोडमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले मजदुर दिवस मनाउने भएका छन् । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउन थालिएको हो । 

सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भएको थियो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गरेको थियो । प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भएको थियो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको थियो । 

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको थियो ।

विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।

नेपालमा समेत मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन् । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको थियो ।