सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका–४ स्थित इलुवाबारीमा कवर्ड हल निर्माण हुने भएको छ । कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले आज (बुधवार) एक कार्यक्रमका बीच कवर्ड हलको शिलान्यास गर्नुभयो । संघीय सरकारले प्रदान गरेको बजेटबाट ‘तुर्सा हेमरम कवर्ड हल’ निर्माण हुने भएको हो ।

कवर्ड हलको शिलान्यास गर्दै नगर प्रमुख पोखरेलले नगर क्षेत्रमा सुविधा सम्पन्न कवर्ड हल आवश्यक रहेको बताए । ‘खेलकुदका लागि खेल मैदान भए पनि पर्याप्त कवर्ड हल छैन’,  उनले भने ‘राष्ट्रिय र अन्तर्राष्टियस्तरको कुनै खेल खेलाउनु पर्दा हामीसँग पूर्वाधार छैन ।’ खेलकुदसँग सम्बन्धित थप पूर्वाधार निर्माणका लागि सरोकारवाला निकायसँग पहल भइरहेको  उनले बताए । 

कनकाई खेलकुद विकास समितिका पूर्वअध्यक्ष जविन तिम्सिनाले समितिको पहिलो बैठकमै सुविधा सम्पन्न कवर्ड हल निर्माण गर्ने निर्णय भएको बताए। सबैको साथ र सहयोगबाट कवर्ड हल निर्माण हुने चरणमा पुगेको बताउनुभयो । ‘इन्डोर खेल खेल्नका लागि कवर्ड हल निकै आवश्यक थियो’ उनले  भने ‘अब त्यो आवश्यक पूरा हुने चरणमा छ, निर्माण कम्पनीलाई समयमै काम सक्न आग्रह गर्छु ।’

कार्यक्रममा कनकाई नगरपालिका वडा नं. ४ वडाध्यक्ष रोषन सुवेदीले सघन सहरी विकास मन्त्रालयबाट प्राप्त भएको रू एक करोड बजेट प्राप्त भए पनि रू ८० लाख टेण्डर लागेको बताए । कनकाई माविको चार बिघा जग्गा भाडामा लिएर नगरपालिकाले कवर्ड हल निर्माण गर्न लागेको बताए।

सघन सहरी कार्यालयका इन्जिनियर अमिनकुमार दासले ३४ मिटर लम्बाइ र २० मिटर चौडाइको कवर्ड हल निर्माण हुने बताए। नगरले तयार गरेको डीपीआर केही परिमार्जन गरेर ३४ मिटर लम्बाइ र २० मिटर चौडाइको कवर्ड हल निर्माण गरिने बताउँदै फिनिसिङका लागि बजेट अपुग हुने बताए।

कवर्ड हल निर्माणको ठेक्का केपी पाथीभरा कन्ट्रक्सन प्रालि कनकाई–६ ले पाएको छ । ठेकेदार भोला खड्काले सम्झौता अवधिभित्रै गुणस्तरीय कवर्ड हल निर्माण गर्ने बताएका छन् ।