बिर्तामोड  । 

पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मानबाट झापाका दुई जना सम्मानीनत हुने भएको छन् । पूर्ण–टुङ्ग स्मृति प्रतिष्ठानको सहयोगमा जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान आयोजनामा हुने आदर्श नागरिक सम्मानबाट  झापाको मेचीनगरका याम भण्डारी र भद्रपुरका दिव्य भुर्तेल सम्मानीत हुने भएका छन् ।  

मेची पुल निर्माणका लागि स्थानीयले संकलन गरेको रकम तत्कालीन राजा महेन्द्रलाई प्रदान गरेको विरोधमा आवज उठाउँदा जेल परेका दुई व्यक्तिलाई यस वर्षको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान प्रदान गरिने भएको छ ।

पुल निर्माणका लागि स्थानीयले संकलन गरेको रकम २०२८ सालमा  तत्कालीन युवराज बीरेन्द्र बीरबिक्रम शाहमार्फत २५ लाख रुपैयाँ महेन्द्रलाई पठाइएको थियो । सो क्रममा याम भण्डारी (मेचीनगर) र दिव्य भुर्तेल (भद्रपुर) ले विरोध जनाउँदा उनीहरुलाई पक्राउ गर्दै चरम यातनासहित जेल चलान गरिएको थियो ।

उनीहरुको सहासिक कदमको उच्च सम्मान गर्दै जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले एक लाख एक हजार रुपैयाँ पुरस्कार राशिको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान प्रदान गर्न लागिएको प्रतिष्ठानका सभापति  गोपाल कुमार वस्नेतले जानकारी दिए ।

 आगामी वैशाख २० गते आयोजित समारोहकाबीच उनीहरुलाई संयुक्त रुपमा सो सम्मान प्रदान गरिने आज (बुधवार) आयोजित पत्रकार सम्मेलन मार्फत प्रतिष्ठान सभापति बस्नेतले जानकारी गराएका हुन् ।

 प्रतिष्ठानका सभापति वस्नेतको अध्यक्षतामा गत बुधवार बसेको बैठकले समाज रुपान्तरणका पक्षमा उल्लेख्य योगदान पु¥याएको भन्दै यो वर्षको सम्मान भुर्तेल र भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको थियो ।

 प्रतिष्ठानले बिगत तीन दशकदेखि समाज परिर्वतनमा उत्कृष्ट योगदान दिने व्यक्तित्वहरुलाई विभिन्न विधामा सम्मान गर्दै आएको छ । गत वर्ष आदर्श नागरिक सम्मानद्वारा नेपाली हास्य जगतका उत्कृष्ट साधक मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) लाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।

आगामी वैशाख २० गते बिर्तामोडस्थित ग्रीन फिल्ड वल्र्ड स्कूलको सभाहलमा आयोजना गरिने सो कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री महेश आचार्य रहने सभापति बस्नेतले जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका उपाध्यक्ष राजकुमार पोखरेल, सचिव लक्ष्मण ढकाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण प्रतिष्ठानकी सह–सचिव स्वस्तिका आचार्य सिटौलालले गरेकी थिइन् ।