झापा ।
चालू आर्थिक वर्षको ९ महिनामा युनाइटेड अरब इमिरेट्स (यूएई) मा दुई २६ नेपाली कामदारको ज्यान गएको छ । साउनदेखि चैत महिनासम्ममा २२६ जनाको मृत्यु भएको हो ।

जसमा साउनमा ३० जना, भदौमा ३२, असोजमा ३३, कात्तिकमा ३५, मंसिरमा २४, पुसमा १३, माघमा २५, फागुनमा १७ र चैतमा १७ जना नेपालीको मृत्यु भएको छ यूएईस्थित नेपाली दूतावासले जानकारी दिएको छ । मृत्युदर प्रत्येक महिना औसतमा २५ जनाभन्दा बढी देखिन्छ ।
गत वर्ष यूएईमा २३१ जना नेपाली कामदारले ज्यान गुमाएका थिए । यस वर्ष उक्त संख्या नाघ्ने आंकलन गरिएको छ । यूएईमा सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयाघात, मुटुसम्बन्धी रोगलगायतका कारण नेपालीले ज्यान गुमाउने गरेको नेपाली दूतावासले जनाएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०६५÷६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजारभन्दा धेरै नेपाली कामदारको मृत्यु भएको छ ।
कमाउन र परिवार पाल्न वैदेशिक रोजगारमा गएका नेपालीहरू हिट ट्र्याप र डेथ ट्रयापमा परी काठको बाकसमा फर्कने समस्या डरलाग्दो बनेको बताउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी बढ्दो मृत्युुदर रोक्न मेडिकल रिपोर्टलाई पूर्णरूपमा डिजिटलाइज गरी नेपालमा हुने स्वास्थ्य परीक्षणलाई प्रमाणीकरण गरी प्रि डिपाचर र प्रि डिसिजन ओरियन्टेशन तालिम सञ्चालन गर्ने नीति पनि कार्यान्वयन गरिने बताएका छन् ।