झापा । 

 वैदेशिक रोजगार विभागको सर्भरमा पुनः समस्या आएको छ । केही दिनअघि आएको समस्या समाधान भएको ठानिएको बेला सोमबार दिउँसोदेखि सर्भर डाउनको पुरानो समस्या दोहोरिएको हो । 

विभागमा अचानक विद्युत् आपूर्ति रोकिएछि बन्द भएको सर्भर विद्युत् आपूर्ति सुचारु भएपछि पनि सर्भर चल्न नसक्ने अवस्थामा ‘डाउन’ देखिएको थियो । सर्भरमा समस्या आएपछि वैदेशिक रोजगारका लागि पूर्व तथा अन्तिम स्वीकृति रोकिँदा वैदेशिक रोजगारमा जानुपर्ने कामदार प्रभावित भएका छन् । कतिपयको जहाजको टिकट गुमेको छ । कतिपयले मंगलबारको नियमित टिकट गुमाउने अवस्था छ ।

यसअघि सर्भरमा समस्या आएपछि विभागले श्रम स्वीकृति भएका तर स्टिकर नभएकाहरूलाई वैदेशिक रोजगारीका लागि प्रस्थान अनुमति दिन अध्यागमन विभागलाई पत्र लेखेर उडान समस्या समाधान गरेको थियो। तर यसपटक त्यस्तो पहलसमेत नभएको गुनासो छ । विभागले सन् २०१३ मा अनलाइन प्रणाली जडान गरेको हो । कमजोर स्टोरेज क्षमताको सर्भरमा मेडिकल, अभिमुखीकरण, बैंकलगायत डेढ दर्जन बढी संस्था जोडिएका छन् । 

पटक–पटक समस्या आएपछि सर्भर सञ्चालक ‘भेण्डर’ले पुरानो सर्भरको क्षमता कम भएको जानकारी गराउँदै नयाँ सिष्टम जडान गर्न पटक–पटक जानकारी गराउने गरेको, तर विभागको प्रशासनिक नेतृत्वले जिम्मेवारी लिएर मन्त्रालय र अर्थमन्त्रालयमा पहल गरेर बजेट निकास  गराउने पहल गर्न नसक्दा वार्षिक १७ खर्बभन्दा बढीको रेमिट्यान्स भित्र्याउने वैदेशिक रोजगार क्षेत्र अविभावकविहीन जस्तो देखिएको वैदेशिक रोजगार व्यवसायीको गुनासो छ ।