झापा । 

झापा जिल्ला सहकारी संघको भोलि हुने निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरिएको छ । संघको निर्वाचनको सवालमा सहकारी संघको निर्वाचन समितिले पूर्व निर्धारित निर्वाचन कार्यक्रमलाई सहि ढंगबाट नगरेको भन्दै सहकारी अभियन्ताहरुको तर्फबाट सहकारी विभाग प्रमुख दुर्गा प्रसाद सापकोटा टोलीले आज (शुक्रवार) साँझ ताला लगाएको हो । 

एक पक्षीय ढंगले प्रभावित गरेर विना सहमति निर्धारित समय सकिएपछि समेत पटक–पटक समय थप गरी उम्मेद्वारी दर्ता र उम्मेद्वारी फिर्तां लिने कार्य गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको सहकारी विभागले प्रेस बिज्ञप्ति जारी गर्दै जनाएको छ ।सहमतिका लागि उम्मेद्वारी फिर्ता लिएका केही उम्मेद्वारहरुको सही छाप गरेका निवेदनहरु समेत दर्ता गर्न नदिएको प्रति सहकारी बिभागको गम्भीर आपत्ति छ । जारी बिज्ञप्तिमा भनिएको छ । 

बिज्ञप्तिमा भनिएको छ ‘निर्वाचन प्रक्रियालाई पटक पटक सार्दै चुनाव प्रचार प्रसारका लागि समेत पयांप्त समय उपलब्ध नगराएको तथा मतदाताहरु सुसुचित गर्ने समयसम्म नराखेकोमा सम्पूर्ण निर्वाचन प्रक्रियालाई स्वच्छ गराउनका लागि विश्वसनीय वातावरण नभएसम्म निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरिएको छ । आफूखुशी ताला खोलिएमा उत्पन्न हुने परिणाम सम्बन्धित पक्षले लिनु पर्ने छ । 

हामी सहकारी अभियानमा सहमति, सहकार्य र एकताको लागि सदैव तत्पर रहेको जानकारी गराउँदै सहकारी अभियानप्रति हाम्रो उच्च सम्मान रहेको समेत अवगत गराउन चाहन्छौ ।’