झापा । 

ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बुलेरो गाडीमा आगलागी हुँदा चार जना यात्रुको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । 

मृत्यु हुनेमा फुङलिङ नगरपालिका–१० का ४२ बर्षिय सवारी चालक दुर्गा भट्टराई, ललितपुरकी १६ बर्षिया आध्या आचार्य, झापा भद्रपुर -१५ का ७० बर्षिय विनोद पौडेल र उनकी श्रीमती ६९ बर्षिया सरिता पौडेल रहेको प्रहरीले जनाएको छ । 

ललितपुर महानगरपालिका १० की ४५ वर्षीया सबिना आचार्य र उनका १० वर्षीय छोरा भबिमय आचार्य घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि काठमाडौं  लाने तयारी गरिएको प्रहरीले जनाएको छ । 

 मे १ च ३०११ नम्बरको बुलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा एक्कासि आगलागी भएको जिल्ला प्रहरी ताप्लेजुङले जनाएको छ ।  आज बिहान करिब ५ः०० बजे बिद्युतको पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

आगलागीको जानकारी प्राप्त हुना साथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटना स्थलमा पुगेको थियो । घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल पठाइएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ भने आगो पूर्ण रुपमा नियन्त्रणमा ल्याइएको छ ।