बिर्तामोड ।
भापा बिर्तामोड–७ स्थित सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का कृष्णप्रसाद लिम्बू नेतृत्वको ‘समृद्ध वन स्वतन्त्र प्यानल’ निर्वाचित भएको छ । बिहीबार भएको निर्वाचनमा नेकपा एमालेको २५ बर्षे विरासत तोड्दै चार दलीय गठबन्धन विजयी बनेको हो ।

शुक्रबार विहान सम्पन्न मत परिणाम अनुसार समृद्ध समूहका तर्फबाट अध्यक्ष लिम्बूले एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार सूर्य भट्टराईलाई पराजित गरेका छन् । लिम्बूले ४८४ मत ल्याउँदा भट्टराईले २५३ मत प्राप्त गरेका थिए ।
त्यस्तै उपाध्यक्षमा मंगलसिंह साँवाले ४५६ मत, सचिवमा इन्दिरा अधिकारी बास्कोटाले ४३२ मत, सहसचिव जीवन कार्कीले ४१० मत र कोषाध्यक्षमा इश्वरादेवी बास्कोटा भट्टराईले ४३५ मत प्राप्त गरी विजयी बनेका छन् ।

यता एमालेको तर्फबाट उपाध्यक्ष बनेका कुलप्रसाद सावाँ लिम्बूले २६० मत, सृष्टिमाया लिम्बू राईले २७२ मत, सहसचिव लक्ष्मीप्रसाद पौडेलले २६४ मत र कोषाध्यक्ष पदका उम्मेदवार नैनकला गुरागाई चापागाईले २६१ मतमात्र प्राप्त गरेका थिए ।
त्यस्तै आरक्षीत पाँच सदस्यमध्ये महिला सदस्यमा शान्ता उप्रेतीले ४१९ मत, मन्जु कट्टेल उप्रेतीले ४२० मत, जनजातितर्फ बुधराज लिम्बूले ४२६ मत, दलिततर्फ सावित्रा सार्कीले ४३१ मत र आदिवासीतर्फ मनमाया हस्दाले ४३६ मत प्राप्त गरि विजयी बनेका छन् ।
त्यस्तै पाँचवटा टोलतर्फ १ नं। टोलमा वीरबहादुर श्रेष्ठले ९० मत, धनमाया फुँयालले ८७ मत, २ नं। टोलमा मेघराज पौडेलले ७३ मत, लीलादेवी उप्रेतीले ८४ मत, ३ नं. टोलमा डिल्लीराम प्रसाईले ८२ मत, भीमा श्रेष्ठले ८६ मत, ४ नं. टोलमा राजकुमार लावतीले ८९ मत, सुनिताकुमारी राजवंशीले ८५ मत र ५ नं. टोलमा खगेन्द्र कटुवालले ८० मत र बन्दना लिम्बूले ७४ मत प्राप्त गरी विजयी बनेका छन् ।
८३१ घरधुरी रहेको सो वन समूहको निर्वाचनमा ७५७ मत खसेको थियो । २०५४ सालमा स्थापना भएको सो वन समूहमा स्थापना कालदेखि २०७३ सालसम्म हालका कोशी प्रदेशका ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्री एकराज कार्की अध्यक्ष बनेका थिए । त्यसपछि २०७३ देखि २०७८ सम्म नेपाली कांग्रेसकी रेनुका उप्रेती अध्यक्ष बनेकी थिइन् । एक कार्यकाल कांग्रेसले चलाएपनि त्यसपछि एमालेकै बद्री प्याकुरेलले २०७८ देखि २०८२ सम्म अध्यक्षको कार्यभार सम्हालेका छन् ।
एमालेका उम्मेदवारहरुलाई जिताउन मन्त्री कार्कीसहित एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईलगायत सिंगो टिम लागि परेको थियो । निर्वाचनको दिनपनि दिनभर कार्की निर्वाचनस्थलमा बसेर भोट मागिरहेका थिए ।
यता समृद्ध वन समूहका उम्मेदवारलाई जिताउन नवीन भट्टराईको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाइएको थियो । वन समूहको निर्वाचनमा राष्ट्रिय गठबन्धनलाई तोड्दै नेपाली कांग्रेस समृद्ध समूहमा आबद्ध भएको थियो । सो वन ५९३.७ वर्ग हेक्टर क्षेत्रमा फैलिएको छ ।