लक्ष्मीपुर ।
बर्षौदेखि बर्षाका समयमा यात्रा समस्या झेल्दै आएका स्थानीयले पुल निर्माण शुरु गरेका छन् । ‘आफ्नो गाउँ तथा क्षेत्रको विकास आफैं गरौं’ भन्ने नाराका साथ ५० बर्ष अघिदेखिको बिरिङ खोलाको पीडा भोग्दै आएका झापाको अर्जुनधारा–४ र ५ का स्थानीयले पुल निर्माण शुरु गरेका हुन् ।

स्थानीय दाताहरुको सहयोगमा अर्जुनधारा–४ रातेखाल र अर्जुनधारा–५ पानीकललाई जोड्ने बिरिङ खोलाको पुल निर्माण भइरहेको छ । दिपेन्द्र लम्सालको संयोजकत्वमा गठित बिरिङ कज्वे मिनीपुल उपभोक्ता समितिले गत फागुन ७ गते अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङबाट पुल शिलान्यास गरेको थियो ।
उक्त खोलामा ब्यवस्थित तथा सुरक्षित पुल नहुँदा बर्षायाममा ४÷५ जनाले ज्यानसमेत गुमाइसकेको दहिझोडा सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष तथा मिनी पुल समितिका सदस्य देवराज बुढाथोकीले बताएका छन् ।
बर्षामा पैदल यात्री, बिद्यार्थी, साना सवारी साधन आजत–जावतमा समस्या हुने गरेको थियो । पुल निर्माणसँगै त्यो समस्या नरहने उनले बताए । ११० मिटर लम्बाई र १० फिट चौडाई मिनी पुल अनुमानित ४० देखि ५० लाख रुपैयाँको लागतमा आगामी जेठ १५ गतेसम्ममा सम्पन्न गर्ने गरी निर्माण भइरहेको मिनी पुल समितिका सदस्यसमेत बुढाथोकीले बताएका छन् ।
हाल १२ फिट जमिन मुनीबाट १७ वटा रडको पायल बनाएर ९० र ६० को ह्युम पाइपको फर्मा राखेर पिलर बन्दै गरेको बुढाथोकीले जानकारी दिए । पुल निर्माणका लागि अर्जुनधारा–४ का तीलकजंग खड्का (कल्याण) ले २ लाख रुपैयाँको रड, अर्जुनधारा–५ का हाल अमेरिका घनश्याम खड्काले एक लाख रुपैयाँको रड, अर्जुनधारा–४ का नरेन्द्र थापाले एक लाख रुपैयाँ बराबरको ५३ ग्रेडको हङ्सी सिमेन्ट उपलब्ध गराएको बताइएको छ ।
यसैगरी अर्जुनधारा–४ का रुद्रबहादुर खत्री पौडेलले एक लाख, अर्जुनधारा–४ का असन राईले ५० हजार, अर्जुनधारा–५ का छबिलाल लम्साल (छत्र) ले ५० हजार रुपैयाँ बराबरको सिमेन्ट सहयोग साथै अर्जुनधारा–४ र ५ का स्थानीयबाट ८० हजार रुपैयाँको डिजल र भीम पौडेलले त्यहाँ आवश्यक गिटी र बालुवा उपलब्ध गराएको सदस्य बुढाथोकीले बताए । त्यस्तै समाजसेवी शेरबहादुर थापाले १६ लाख मुल्य पर्ने मिनी पुलका लागि चेनल उपलब्ध गराउने बचनबद्धता दिएको समेत उनले बताए ।
सो बिरिङ खोलामा पुल नहुँदा बर्षायामको समयमा आवतजातमा स्थानीयले समस्या झेल्दै आएका थिए । उक्त मिनी पुल निर्माणपछि पैदलयात्री, मोरसाइकल, अटो रिक्सासहित ७ टनसम्म भार क्षमता भएका चारपाङ्ग्रे सवारी साधन आवत–जावत गर्न सक्ने समितिले जनाएको छ ।
वडा कार्यालय, अर्जुनधारा नगरपालिका, प्रदेश तथा संघीय सरकार पनि पुल निर्माणमा सकारात्मक रहेको बताउँदै बुढाथोकीले स्थानीयसहित सवैमा सहयोगका लागि अपिलसमेत गरेका छन् ।