दुर्गापुर ।
पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरीसहित चार सम्मान तथा पुरस्कृत भएका छन् । चिरञ्जीवी–ईश्वरादेवी उप्रेती अक्षयकोषबाट पत्रकार गिरीसहित चार जना पुरस्कृत भएका छन् ।

झापाको कनकाई–६ स्थित भवानी–हिमादेवी खानेपानी तथा सरसफाइ उपभोक्ता सामुदायिक संस्थाको आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा आज (शनिवार) विभिन्न क्षेत्रमा उत्कृष्ट चार जनालाई जनही ५१ हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो ।
उत्कृष्ट पत्रकारका रुपमा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गरी, उत्कृष्ट विद्यार्थीका रुपमा कनकाई माविका डिल्लीराम आचार्य, उत्कृष्ट कृषकका रुपमा कनकाई–७ का भक्तबहादुर तामाङ र उत्कृष्ट बुहारीका रुपमा कनकाई–७ की शोभा दाहाल पौडेललाई सम्मान तथा पुरस्कृत गरिएको छ । पत्रकार गिरी नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्षसमेत हुन् ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका प्रमुख सुरतलाल चौधरी, कोषका अध्यक्ष एकराज उप्रेती, खानेपानी संस्थाका अध्यक्ष चिरञ्जीवी उप्रेती लगायतले सम्मान–पत्र हस्तान्तरण गर्नुभएको थियो । ३० लाख रुपैयाँको अक्षयकोषबाट चार वटा विधामा २०७९ सालदेखि उत्कृष्ट प्रतिभा छनोट गरी पुरस्कृत गरिँदै आएको छ ।
खानेपानी संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष चिरञ्जीवी उप्रेतीले गत आर्थिक वर्ष २०८०/ ०८१ मा दुई किलोमिटर पाइप विस्तार, एक सय सेट धारा सामग्री खरीद, ८६ वटा नयाँ धारा जडान, ३० जनालाई नयाँ सदस्यता वितरण, ३०३ जना उपभोक्ता सदस्यहरुको हक जामुनबारी खानेपानीलाई हस्तान्तरणलगायतका कार्य गरिएको जानकारी दिए । संस्थाले दुई लाख २५ हजार क्षमताको ओभरहेड ट्यांकीबाट खानेपानी वितरण गर्दै आएको छ भने खानेपानी आपूर्ति सहज बनाउन चार लाख ५० हजार क्षमताको ओभरहेड ट्यांकी निर्माण गर्न जग्गा खरीदसमेत गरिसकेको छ ।
साधारण सभामा संस्थाका कोषाध्यक्ष भरतकुमार थपलियाले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१/०८२ मा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट संस्थालाई विभिन्न संरचना निर्माण गर्नका लागि छ करोड ५० लाख रुपैयाँको योजना सम्झौता भई टेण्डर प्रक्रियामा रहेको जानकारी दिए। साधारण सभामा लेखा समितिको प्रतिवेदन लेखा समिति सदस्य मनोकुमार थापाले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका प्रमुख सुरतलाल चौधरी, कनकाई–६ का वडाध्यक्ष लक्ष्मीप्रसाद ओली, कनकाई–७ का वडाध्यक्ष भीष्मभूषण सिटौला, सम्मानित व्यक्तित्व एकराज गिरी लगायतको शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत खानेपानी संस्थाका सदस्य हरिप्रसाद शिवाकोटीले गरेका थिए भने सञ्चालन सचिव जीवनकुमार श्रेष्ठले गरेका थिए ।
संस्थाको तेस्रो अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । नयाँ नेतृत्व चयनका लागि रुद्रबहादुर थापा निर्वाचन अधिकृतका रुपमा तोकिएको भने सदस्य सचिवमा चन्द्रप्रसाद अधिकारी, सदस्यमा विष्णुप्रसाद चुडाल र यशोधा उप्रेती रहेको निर्वाचन समिति गठन गरिएको छ ।