झापा । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० र ३१औं साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचन आज (शुक्रबार)  हुँदैछ । साधारणसभामा भवन निर्माण समिति र चन्दादाताहरूलाई सम्मान गरिने संघका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए ।

साधारणसभा उद्घाटन र निर्वाचन कार्यक्रम अनुपम फुडल्यान्ड बत्तीसपुतलीमा राखिएको छ । उद्घाटन कार्यक्रम बिहान ८ बजे हुने संघले जनाएको छ । संघको साधारणसभाले वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पारित गरेपछि शुक्रबार नै आगामी २ वर्षे कार्यकालका लागि निर्वाचन गर्नेछ । निर्वाचनका लागि ८९३ प्रतिनिधि तोकिएको महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए ।

संघको २१ सदस्यीय कार्यसमिति मध्ये अध्यक्षसहित ७ पदाधिकारी र १० जना कार्यसमिति सदस्य प्रत्यक्ष मतदानबाट निर्वाचित हुने छन् । ४ सदस्य अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ । कार्यसमितिका लागि २ प्यानलका ३४ र स्वतन्त्र २ गरी ३६ जनाको उम्मेदवारी परेको छ । संघको निर्वाचन मतपत्रका आधारमा हुने छ ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसँगको तालमेलका आधारमा बनेको प्यानलबाट संघका पूर्व द्वितीय उपाध्यक्ष भुवनसिंह गुरुङ अध्यक्षका उम्मेदवार छन् ।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको अर्को पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीचको तालमेलमा बनेको संयुक्त व्यवसायी समूहबाट संघका पूर्वमहासचिव तथा मञ्चका पूर्वअध्यक्ष नरेश गेलाल अध्यक्षका उम्मेदवार छन् । चुनावी प्रतिस्पर्धामा रहेका दुवै प्यानलले आफ्नो पक्षमा जित सुनिश्चित भएको दाबी गरेका छन् । 

प्यानलबाहिर रहेर प्रथम उपाध्यक्षमा अख्तर हुसेन र सचिवमा व्यवसायी ईश्वर सापकोटाले उम्मेदवारी दिएका छन् ।साधारणसभाको उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने कार्यक्रम छ ।