मोरङ ।
मोरङको पथरी शनिश्चरे नगरपालिका–१० जिरिखिम्तीका ४१ घरपरिवारको बिचल्ली हुने भएको छ । सो क्षेत्रमा एसियन हाइवे विस्तारले जग्गाधनीको बिल्लीबाठ हुने भएको हो । स्थानीय वासिन्दाले सडक बनेको आफ्नो नम्बरी जग्गाको मुआब्जा मागेको वर्षौं भयो । तर, उनीहरूले अझै मुआब्जा पाएका छैनन् ।

पूर्व–पश्चिम एसियन राजमार्गअन्तर्गत यो सडक खण्डको वयरवन–९ (थ) को ६४ नम्बर कित्तामा बाटो बनिरहेको छ । १९७० सालमा नापी भएर जग्गा कित्ताकाट भयो । त्यसको ५३ वर्षपछि सडकको लागि जग्गा छुट्याइयो ।
आफ्नो नम्बरी जग्गामा मुख्य राजमार्ग बनेपछि उनीहरूले मुआब्जा माग्दै धेरै वर्षदेखि संघर्ष गर्दै आएका छन् । अहिले काँकडभिट्टा–लौकही सडक आयोजना पश्चिम खण्ड इटहरी सुनसरीले सडक विस्तार गर्ने योजना बनायो । त्यही कारण त्यहाँका ४१ घरपरिवारको बिचल्ली हुने भएको छ । सडक बनाउने वेला नापी गर्दा ए सय फुट चौडाको सडक बनाउने भनिए पनि सडकले अहिले १ सय ६५ फुट क्षेत्रफल ओगटेको छ ।
उक्त समस्या समाधानका लागि गठन गरिएको समन्वय समितिका संयोजक मदन पोखरेल सडक विस्तार भए पनि आफूहरूको बिल्लीबाठ भएको बताउँछन् । उनले पटक–पटक आन्दोलन गरेपछि अहिले तत्काल सडक विस्तार कार्य रोकिएको भएपनि कुन दिन घर भत्किने हो टुंगो नभएको बताए ।
पोखरेलले सडकले कि आफ्नो ठाउँमा सडक सार्नुपर्ने कि अहिले आफूहरू बसेको ठाउँको जग्गा आफ्नो नाममा पास गरिदिनुपर्ने बताए । अहिले उनीहरू बसोबास गर्दै आएको जग्गा सडकको नाममा छ । र उनीहरूसँग भएको नम्बरी जग्गाको धनीपुर्जा भएपनि त्यो जग्गामा सडक छ । पोखरेलले आफ्नो नाममा जग्गा नभएकोले बैंकमा जग्गा राख्न पनि समस्या भएको बताए । उक्त समस्या पुरानो भएको र त्यतिवेलादेखि नै संघर्ष गर्दै आएपनि कुरा सुनुवाइ हुन नसकेको उनको भनाई छ । उनले आफ्नो जग्गामा सडक भए पनि त्यो जग्गाको कर तिरिरहेको बताए । समस्या बढ्दै गएपछि धेरै पटक छलफल भएको पोखरेलले बताए ।
केहीअघि भएको सार्वजनिक सुनुवाइमा पनि यो समस्या समाधान गर्ने सहमति भएको भएपनि कार्यान्वयन नभएको उनको गुनासो छ । पीडितहरूले सडक रहेको आफ्नो जग्गाको सट्टा अहिले आफूहरू बसेको ठाउँमा नै जग्गा सट्टापट्टा गरिदिन पनि सम्बन्धित निकायलाई आग्रह गर्दै आएका छन् ।
उक्त आयोजना प्रमुख जगत प्रजापतिले समस्या समाधानका लागि धेरै पटक छलफल भएको बताएका छन् । प्रजापतिले स्थानीयको माग सम्बोधनका लागि विभिन्न ढंगले छलफल भइरहेको बताए । सडकको जग्गा एकातिर र सडक अर्कैतिर रहेको हुँदा समस्या भएको बताए । उनले १० मिटर चौडा बाटोलाई बढाएर २४ मिटर चौडाको बनाउने योजना अघि बढेको जनाएका छन् ।
पथरीशनिश्चरे नगरपालिकाका प्रवक्ता नवीन कार्कीले समस्या समाधान कसरी गर्न सकिन्छ भनेर पटक–पटक छलफल भएको बताए । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पनि यस विषयमा छलफल भइरहेको समस्याको समाधान हुने बताएका छन् ।