दुर्गापुर । 

झापाको कनकाई नगरपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत नगरका  ९ वटै वडाका ४० जना युवालाई सीपमुलक तालिम शुरु भएको छ । कनकाई नगरको आर्थिक सहयोगमा ४० जना युवालाई सीपमुलक तालिम दिएर स्वरोगार बनाउने उदेश्यले आज (बुधवार) बाट ५० दिने तालिम दिन शुरु गरिएको हो । 

 प्लम्बर र ईलेक्ट्रिसियनको ५० दिने तालिमको उद्घाटन कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन गरेका छन् ।  

प्रत्येक वडाका २÷२ जना प्लम्बर र ईलेक्ट्रिसियन तथा अन्य ४ जना गरी कुल ४० जना युवा तालीममा सहभागी भएको नगर रोजगार संयोजक सरोज मैनालीले जानकारी दिए ।  तालिम कनकाई–१ स्थित दलित सामुदायिक भवनमा शुरु गरिएको छ । 

कनकाई–१ का वडाध्यक्ष सुशीलकुमार पोखरेलको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो भने प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेको बिशिष्ठ आतिथ्य रहेको थियो । 

कार्यक्रममा वडा न १ का वडा सदस्य दलबहादुर थापा, निर्मला खड्का, हरिकुमार राई, टोल संयोजकलगायतको आतिथ्य रहेको थियो ।

पाथीभरा प्रोफेशनल एजुकेशन प्रालिको प्राविधिक सहयोग रहेको तालिमको सहजीकरण प्रशिक्षक दीपेन्द्र विमली र दुर्गा सिटौलाले गर्ने छन् । तालिममा ४० दिन सीप मुलक तालिम र १० दिन जीवन उपयोगी शिक्षा कार्यक्रम हुने बताइएको छ । स्वागत प्रालिका प्रवन्ध निर्देशक डिल्लीराम भट्टराईले गरेको कार्यक्रमको सञ्चालन  प्रालिका कर्मचारी पिताम्वर सापकोटाले गरेका थिए ।